काठमाडौं, ३१ असोज । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले तीन चौथाई घरलाई पुनः प्रयोग गर्न नमिल्ने गरी क्षति पु¥याएको राष्ट्रिय योजना आयोगले बताएको छ ।
शुक्रबार साँझ सार्वजनिक आयोगको प्रारम्भिक सर्वेक्षण प्रतिवेदनका अनुसार बाढीले क्षति पु¥याएका ४,१५१ घरमध्ये ३,१९४ -७६.९५ प्रतिशत) संरचना पुनः प्रयोग गर्न नै नसकिने अवस्थामा छन् ।
यसैगरी ३३२ (८.०० प्रतिशत) पूर्ण मर्मतपछि र ३२० -७.७१ प्रतिशत) वटा सामान्य मर्मतपछि प्रयोग गर्न सकिने देखिएको छ भने ९७ (२.३४ प्रतिशत) वटा संरचनामा मर्मत नगरी पनि बस्न सकिने अवस्थामा छन् । २०८ (५.०१ प्रतिशत) वटा संरचनाको बारेमा पुनः प्रयोग गर्न सकिने वा नसकिने निक्र्यौल हुन सकेको छैन ।
सर्वेक्षणको प्रारम्भिक नतिजा अनुसार रसुवा भोटेकोशी बाढीबाट ३,०६७ घरधनीको ४,१५१ वटा भवन संरचनामा क्षति पुगेको देखिन्छ । जसमध्ये रसुवामा ८८२ घरधनीको १,२३६ वटा, नुवाकोटमा १,६८६ घरधनीको २,२५६ वटा, धादिङ्गमा ४८० घरधनीको ६३० वटा र गोरखामा १९ घरधनीको २९ वटा भवन संरचनामा क्षति पुगेको छ ।
क्षतिग्रस्त ४,१५१ वटा भवन संरचनामध्ये २,७९२ घर, २८८ गोठ/धन्सार/मतान, ६५१ ट्रस, २६३ टहरा र १४२ अन्य प्रकारका संरचना रहेका छन् भने १५ संरचनाको प्रकार खुलेको छैन ।
सर्वेक्षणका अनुसार २,९८९ -७२.०१ प्रतिशत) भवन संरचना बाढीबाट पूर्ण रूपमा क्षतिग्रसत भएका छन् । कुल १४१ (३.४ प्रतिशत) संरचना ढल्किएर रहेका छन् । त्यसैगरी ३०२ (७.२८ प्रतिशत) भवन आंशिक रूपमा क्षति भएका, ५०८ (१२.२४ प्रतिशत) भवन संरचनामा माटो तथा लेदोले पुरिएका र १९२ (४.६३ प्रतिशत) भवनमा सामान्य क्षति पुगेको छ ।
आयोगका अनुसार सर्वेक्षणमार्फत तथ्याङ्क सङ्कलनका लागि ५८ टोलीमा १५६ जना प्राविधिक र प्रशासनिक जनशक्तिलाई प्रत्यक्ष रुपमा खटाइएको थियो । साथै, प्रभावित चार जिल्लामा कामको सिलसिलामा वा भ्रमणमा रहँदा प्रभावित हुन पुगेका ब्यक्तिको परिवारको लागि सम्बन्धित स्थानीय तहबाट विवरण भर्ने व्यवस्था मिलाइएको थियो ।
