काठमाडौं, २६ कात्तिक । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)ले आठौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सोमबार बसेको साधारण सभाले कम्पनीको चुक्ता पूँजी रु. २१.६ करोड रहेकोमा ३८% बोनस शेयर वितरण गरी रु. २९.८ करोड पुर्याउने निर्णय गरेको छ । साथै बोनस शेयर ट्याक्स प्रयोजनका निम्ती २% नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको अधिकृत पूँजी पनि वृद्धि गरी ५० करोड पुर्याइने निर्णय गरेको छ । आ.व. २०७५-७६ मा कम्पनीले खुद नाफा रु. २३७,७३५,७८६ गरेको छ ।
कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ । नेपाल राष्ट्र बैंकको नियमअनुसार नेपाल भित्र कार्य गर्ने भुक्तानी प्रणाली सन्चालक (पिएसओ) को चुक्ता पुँजी कम्तिमा १० करोड तथा नेपाल बाहिर कार्य गर्नका लागी २५ करोड रहनु पर्ने ब्यवस्था रहेको छ ।
आव २०७५/७६मा एनसीएचएल–ईसीसी मार्फत कुल ११,७५५,०७२ चेक राफसाफ भएको थियो भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस)बाट ४,९३१,९५० तथा कनेक्टआईपीएस ई-पे प्रणाली मार्फत १८६,०४१ भुक्तानी कारोबारहरु भएको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो भुक्तानी प्रणालीहरु मार्फत आव २०७५/७६ मा कुल ९२ खर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ गरेकोमा दैनिक औसत कारोवार ६७,४७९ रहेको थियो जुन औसत दैनिक रकम रु.३६.८५ अर्ब रहेको थियो ।
हाल ८० सदस्य बैंक तथावित्तीय संस्थाहरुका ५,००३ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा २२ गैर–बैंकिङ संस्थाहरु इन्डारेक्ट/टेक्निकल मेम्बरको रुपमा आवद्ध छन् ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड नेपाल राष्ट्र बैंक (१०%), बैंक तथावित्तीय संस्थाहरु(८०%) र स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रालि (१०%) द्वारा प्रवद्र्धित कम्पनी हो ।
यसले नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना र विस्तार गर्नुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, पिएसओ, पिएसपि, सरकारी तथा गैर सरकारी निकायहरुलाई भुक्तानी प्रणालीका सेवाहरु प्रदान गर्दै आएको छ ।