कुन-कुन वस्तुको कर वृद्धिमा चेम्बरको विरोध ?

काठमाडौं, २६ कात्तिक । नेपाल चेम्बर अफ कमर्सले करको दरमा परिवर्तन गर्दै सरकारले कर वृद्धि गरेको भन्दै विरोध जनाएको छ ।

कात्तिक १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विदेशबाट फर्केका यात्रुले ल्याउने सुन तथा सुनका गहना तथा व्यापारिक प्रयोजनका लागि ल्याइने सुन तथा चाँदीमा लाग्ने भन्सार महसुल बढाएको थियो ।

उक्त करको विरोधमा चेम्वरले मंगलवार एक विज्ञप्ती निकाल्दै सोमवार प्रकाशित नेपाल राजपत्रको सूचना संशोधन प्रति विरोध जनाएको हो ।

त्यस्तै कपालमा प्रयोग हुने कस्मेटिक्स ,फलाम वा इस्पातको सरसफाइ सम्वन्धी सामान तथा कफीमा अन्तशुल्क वृद्धि गरेको भन्दै चेम्वरले विरोध गरेको छ ।

यस वृद्धिले मालवस्तुको मूल्य वृद्धि हुन गइ उपभोक्तालाइ प्रत्यक्ष रुपमा नकारात्मक असर भइ महंगीको मारमा पर्ने चेम्वरको दाबी छ ।

कुखुरा पालन व्यवसायको लागि आवश्यक पर्ने फुलहरु तथा एक्रेलिक इमल्सनमा दिइएको छुट सकारात्मक रहेको जनाएको छ ।

लागू भएको चार महिना नहुँदै करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता नहुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उद्योगी व्यवसायीहरुले आर्थिक ऐन लागू भए पश्चात एक वर्षको लागि आफ्नो व्यवसायीक योजना बनाइ तदनुरुप आफ्नो व्यवसाय संचालन गर्ने र सोही अनुरुप अग्रीम रुपमा कारोवार गर्नु पर्ने सुझाव समेत दिएको छ ।

सरकारले तोकेको भन्सार महसुल अनुसार ५० ग्रामसम्मका सुनका गहनामा कुनै शुल्क नलाग्ने भए पनि ५० ग्राम देखि १०० ग्रामसम्मका सुनका गहनामा प्रति १० ग्राम ८ हजार ५ सय रुपैयाँ भन्सार महसुल लाग्नेछ ।

यसअघि सोही परिमाणको सुनका गहनाको भन्सार दर ७ हजार २ सय थियो। १०० ग्रामभन्दा बढी अर्को थप १०० ग्रामसम्मको लागि भने प्रति १० ग्रामको दश हजारका दरले महसुल तोकेको छ।

यसअघिको महसुलमा सरकारले हजार रुपैयाँ बढाएको हो। तर, त्यो भन्दा बढी सुन ल्याएमा भने सरकारले जफत गर्ने छ।

यस्तै व्यापारिक रुपमा कारोबार गर्न ल्याइने प्रति १० ग्राम सुनमा भने ६ हजार ५ सय तोकिएको छ। यसअघि त्यसको दर ५ हजार थियो।

विदेशबाट फर्केका यात्रुले काँचो सुन ल्याउँदा भने ५० ग्रामसम्मको लागि प्रति १० ग्रामलाई ७ हजार ५ सय महसुल तिर्नु पर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here