प्रधानमन्त्री ओलीले त्रिशुली थ्रीबीको शेयर किन्ने

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली थ्रीबी जलविद्युत आयोजनाको साधारण शेयर (आइपीओ) को १० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिएका छन् । उनी त्रिशुली थ्रीबी आयोजनाका लागि शेयर आवेदन दिने पहिलो आवेदनकर्ता पनि बनेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले शेयर खरीद गरेका हुन् ।

यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि १० हजार कित्ता शेयर किन्नका लागि आवेदन दिएकी छन् । उर्जामन्त्री बर्षमान पुन ‘अनन्त’ ले १ हजार कित्ता र पूर्व सभामुख ओनसरी घर्ती मगरले २ हजार कित्ताको आवेदन गरेका छन् ।

शेयर खरीदका लागि आवेदन भरेपछि प्रधानमन्त्री ओलीले आज नयाँ अभ्यासको थालनी भएको बताए । आमजनतालाई यस प्रकारका आयोजनामा लगानी गर्न प्रोत्साहित गर्न आफूले पहिलो शेयर खरीदका लागि आवेदन दिएको पनि उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले मौरीले थोरै थोरै फूलको रस संकलन गरेर धेरै मह जम्मा गरेजस्तै नेपालीको थोरै थोरै लगानीले ठुला आयोजनाहरु निर्माण गर्न सकिने बताए । ‘मौरीले फूलको थोरै रस संलकन गरेर मह जम्मा गरे जस्तै हामीले थोरै थोरै लगानीमा सबै जनतालाई सहभागिता गराएर ठुला आयोजनाको निर्माण गर्न सक्छौं,’ उनले भने, ‘यस्तो अभियान पर्यटन,कृषि आदिका क्षेत्रमा पनि सञ्चालन गर्न सकिन्छ ।’

वहालवाला तथा सेवा निवृत्त भइसकेका पूर्व शिक्षक, कर्मचारी तथा सुरक्षाकर्मीहरुले पनि यस्ता आयोजनाहरु सञ्चालन गर्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘यो कार्य आफ्नो देश आफैं बनाउँ अभियानको सुरुवात हो,’ प्रधानमन्त्री ओलीले भने । यसमा सहभागी हुन सम्पूर्ण नेपालीलाई उनले आह्वान पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here