पर्यटन प्रवर्द्धनका लागि राफ्टिङ, मल्लकालीन दरबार प्राथमिकतामा

गोरखा, २ मंसिर । गोरखाको गण्डकी गाउँपालिकाले स्थानीय पर्यटनको प्रवर्द्धनका लागि राफ्टिङ आयोजना गरेको छ ।

गाँउपालिकामा भएका ऐतिहासिक, प्राकृतिक, धार्मिक तथा साँस्कृतिक सम्पदाको प्रवर्द्धन र जगेर्नाका लागि कार्यक्रम आयोजना गरिएको हो ।

पूर्वमा त्रिशुली र बुढीगण्डकीको संगमसम्म फैलिएको यो पालिकामा राफ्टिङदेखि ट्रेकिङ र होमस्टेसम्मका सुविधा उपलब्ध छन् ।

त्रिशुलीको किनारदेखि तिब्बतको सिमानासम्म फैलिएको गोर्खा जिल्लाको सानो भौगोलिक स्वरुप गण्डकी गाउँपालिकामा देख्न सकिन्छ ।

त्रिशुली किनारमा अझै न्यानो छ भने भैरवी डाँडामा हिमालबाट आएको चीसो हावाले मुटु कमाउँछ । ‘जनसाँख्यिक विविधता पनि गण्डकीको अर्को प्रमुख आकर्षण हो । यही विविधताले यहाँ साँस्कृतिक विविधता सिर्जना गरेको छ – नाचगानदेखि खानपान र लवाइखवाइसम्म,’ गण्डकी – वडा ८ का अध्यक्ष रामप्रसाद रेग्मीले भने ।

त्रिशुली र बुढीगण्डकीको संगममा करीब २ सय ५० वर्ष पुरानो मल्लकालीन दरबार मल्लपुरी छ । सो स्थल ऐतिहासिक महत्वको ठाउँ हो । पृथ्वी नारायण शाहको एकीकरण अभियानअघि धादिङ सल्यानकोट राज्य थियो । यसका साथै, माथि डाँडामा चित्रादेवीमन्दिर, मुन्थलामाई मन्दिर छन् भने घरबास (होमस्टे) पनि सञ्चालन गरिएको छ ।

करीब डेढ महिनापछि शुरु हुन लागेको भिजिट नेपाल इयर २०२० बाट स्थानीय समुदाय र सरकारहरु पनि लाभान्वित हुनु आवश्यक रहेको रेग्मीको भनाइ छ । ‘स्थानीय तहमा रोजगारी सिर्जना गर्न र यहाँको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पर्यटनले ठूलो सहयोग गर्न सक्छ,’ उनले भने ।

बेनिघाटबाट जवाङ खोलासम्म करीब १४ किलोमिटर लामो राफ्टिङको आनन्द लिएपछि गण्डकी प्रदेशका भूमी व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले त्रिशुली नदी गोर्खामा पर्यटन सम्भावनाको प्रस्थान विन्दु मात्र भएको बताए ।

‘गोर्खामा अथाह सम्भावना रहेका छन् । मनास्लु हिमाल, रुबीनाला उपत्यका, ट्रेकिङ रुटहरु, मनकामना मन्दिर, ऐतिहासिक गोर्खा दरबार, सिरानचोक र लिगलिगकोट जस्त अनेक स्थलमालाखौं पर्यटक भित्राउन सकिने उनको भनाई थियो ।

प्रदेश सरकारले स्थानीय सरकारलाई पर्यटकीय संभावनाका स्थलहरुको विकासमा आवश्यक सहयोग गर्ने वचन पनि मन्त्री मगरले दिए । भैरबी डाँडा, फिरफिरे र उपल्लोकोटमा भ्यू टावर बनाउने योजना रहेको जानकारी दिए ।

प्रतिनिधि सभा सदस्य हरिराज अधिकारी र प्रमुुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् । स्थानीय तहका सम्पूर्ण सरोकारवालाहरु विकासमा एकजुट हुन सके त्यसले गतिलिने र जनता पनि लाभान्वित हुने उनको भनाइ छ ।

त्यस्तै शहर केन्द्रित पर्यटकीय प्रडक्ट र गतिविधिलाई गाउँमा विस्तार गर्नु आवश्यक रहेको लामिछानेले बताए । राफ्टिङ बेनिघाटको बिगफिग रिसोर्टबाट शुरु भई ह्वीलिङको रिभर लाइफ क्याम्पमा पुगेर टुंगिएको थियो ।

गण्डकी गाउँपालिका वडा नं ६, ७ र ८ को संयुक्त आयोजनामा गरिएको सो कार्यक्रममा करीब ५० जनाको सहभागिता रहेको थियो । वडाध्यक्षहरु तुलसि रेग्मी, जीवन गुरुङ र रामप्रसाद रेग्मीले कार्यक्रमले गाउँको पर्यटनमा टेवा पुर्‍याउने आशा व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here