नेपाली युवतीको आँखामा २० करोडको गाजल

जितेन्द्र खनाल

काठमाडौं, ३ मंसिर । राम्रो र आकर्षक देखिनु सबैको अन्तर आत्माको चाहना हो । आफुलाई कस्तो लुगा सुहाउँछ, कुन मौसममा कस्तो पहिरन लगाउने, कसरी लगाउने, कुन लुगासँग कस्तो मेकअप सुहाउँछ भन्नेमा सबैलाई चासो हुन्छ ।

आफ्नो गेटअप अनुसार मेकअप महिला देखि पुरुषहरुको रोजाईमा रहेका हुन्छ । अझ बिशेष गरी नारीहरु आफु कसरी राम्री देखिन्छु भन्नेमा सधै सचेत रहेका हुन्छन् ।

घरमा होस् वा अफिस, विवाह होस् वा पार्टीमा नारीका मेकअप पनि भिन्न भिन्न हुने गर्दछ । सौन्दर्य प्रति आएको चेतनाका कारण अहिलेका नेपाली नारी आफ्नो अनुहारको छाला सुहाउँदो क्रिम तथा कस्मेटिकका सामग्रीहरु प्रयोग गर्न रुचाउँछन् ।

नेपाली बजारमा विभिन्न स्वदेशी तथा विदेशी ब्रन्डमा सौन्दर्य सामग्री उपलब्ध छन् भने सामग्रीको गुणस्तर अनुसारका सस्तादेखि महंगा सामग्री पाउँन सक्छौं ।

तर नेपाली बजारमा पाइने यस्ता अधिकाशं सौन्दर्य सामग्री विदेशबाट आयात गरेको पाइन्छ । नेपालमा यस्ता सौन्दर्य सामाग्री न्युन मात्रामा मात्र उत्पादन हुने गरेका छन ।

सौन्दर्य तथा ‘कस्मेटिक’ व्यवसायका क्षेत्रमा वार्षिक करिब १० अर्बभन्दा बढिको सामग्री आयात हुने गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार पछिल्लो १ वर्षमा नेपालमा १० अर्ब १६ करोड ८० लाख ३२ हजार ८ सय ५० रुपैयाँ बराबरको मेकअप सामग्रीहरु आयात भएको छ ।

भारत, चीन, अमेरिका, जापान, कोरीया, मलेसिया, बेलायत, बङ्गलादेश, ब्राजिल, क्यानडा जस्ता ५० भन्दा धेरै देशहरुबाट मेकअप सामग्रीहरु आउने गरेका छन् ।

परफ्युम, स्याम्फु, क्रिम, ओठका मेकअफ सामग्री, आँखाका मेकअप सामग्री, नङ पालीसहरु, पाउडर, तेल तथा जेल, दारी काट्दा प्रयो गरिने क्रिमहरु, मन्जनहरु, दात र मुख सम्बन्धी सामग्रीहरु, सावन, धुपहरु तथा ट्वाईलेटमा प्रयोग गरिने परफ्युमका साथै अन्य मेकअप सामग्रीहरु आयात हुने गरेको छ ।

२० करोडको गाजल मात्र

नेपालमा आँखा मेकअपका लागि आवश्यक पर्ने आइलाइनर, मसकारा, गाजल लगायतका सामग्री २० करोड ९७ लाख ६५ हजार रुपैंया बराबरको आयात गरिएको तथ्यांकले देखाएको छ ।

जसमा ६२ लाख ५७ हजार ३२८ किलो आँखा सौन्दर्यका सामग्री आयात गरिएको छ ।

आइलाइनर, मसकारा, गाजल लगायतका सामग्री सबै भन्दा बढी चीनबाट आयात गरिएको छ । चीनबाट १० करोड ३२ लाख ६४ हजार रुपैंया बराबरको आयात गरिएको छ ।

त्यसै गरी भारतबाट ६ करोड ४३ लाख मुल्य बराबरको सौन्दर्य सामग्री आयात गरिएको छ । नेपालले जर्मनी, नेदरल्याण्ड, इटाली लगायतका देशबाट पनि गाजल लगायतका आँखा सौन्दर्य सामग्री एक बर्षमा आयात गरेको तथ्यांकले देखाउँछ ।

वृद्ध आमाहरु लगायत ग्रामिण भेगका अधिकांस महिलेहरुले भने गाजल घरमै आफैले बनाएर लगाउने गरेको पाईन्छ । घरको दियोमा गाजल पार्ने चलन रहि आएको छ ।

गाजललाई शृंगारका साथै शुभकार्यमा पनि प्रयोग गरिन्छ । शिशुहरूलाई कसैको आँखा नलागोस् भनेर नजरदोषबाट बचाउन गाजल लगाइने गरिन्छ । बच्चालाई आँखामा नभई उसको कानको पछाडि वा निधारमा कालो टीका लगाएर नजरदोष मेटाउन सकिन्छ ।

बच्चाको आँखामा गाजल लगाउँदा आँखा सुन्दर देखिन्छ । तर, यसको वैज्ञानिक अनुसन्धान अहिले भने भएको छैन । गाजलको प्रयोग कतिपय शिशुमा हानिकारक पनि साबित भएको छ ।

घरपरिवारमा सधैं झैझगडा भइरहन्छ र सुखशान्ति हराएको छ भने पनि शनिबार बिहान कालो कपडामा काँचो नरिवललाई बेरेर त्यसमा गाजलको २१ वटा टीका लगाई घरबाहिर झुन्ड्याइदिँदा घरमा कसैको आँखा लाग्दैन र सुखशान्ति प्राप्त हुन्छ भन्ने जनविश्वास पनि छ ।

यस्तो छ मेकअफ सामग्री आयातको तथ्यांक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here