गुगल पिक्सल फोनमा कमजोरी देखाउनेलाई १५ लाख डलर पुरस्कार

काठमाडौं । गुगलले आफ्नो नयाँ एन्ड्रोइड फोनमा सुरक्षा खतराजस्ता समस्या देखाउनेलाई १५ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ।

उक्त धनराशि प्राप्त गर्न गुगलले निर्माण गरेको पिक्सल स्मार्टफोनको टाइटन एम सुरक्षा चिपमा त्रुटि फेला पार्नुपर्ने हुन्छ। त्यसो गर्दा केही निश्चित मापदण्ड पनि पूरा भएको हुनुपर्छ।

गुगलले पिक्सल स्मार्टफोनहरुमा टाइटन एम सक्युरिटी चिप्स लगाएको छ। आफ्नो फोन सुरक्षाको हिसाबमा भरपर्दो फोन भएको दाबी गर्दै उसले समस्या देखाउन सक्नेलाई पुरस्कार दिने बताएको हो।

सन् २०१५ यता आफूहरुले फोनको सुरक्षा सम्बन्धी अनुसन्धानमा ४० लाख अमेरिकी डलर खर्चिएको गुगलको भनाइ छ।

स्र्माटफोनहरु ह्याक हुने समस्या विश्वभर चर्चामा छ। यसबीचमा आफ्नो फोन भरपर्दो भएको गुगलको प्रतिक्रिया छ।

एपल, बजफीड, फेसबुक र सामसङ जस्ता कम्पनीहरूले पनि सुरक्षा त्रुटिबारे जानकारी गराउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने गरेका छन्।

पिक्सल स्मार्टफोनमा टाइटन एम सेक्युरिटी चिप अपरेटिङ सिस्टमको रक्षा गर्न तथा फोन अन्लक गर्न प्रयोग गरिने बायोमेट्रिक डेटा राख्न बनाइएको हो।

पन्ध्र लाख अमेरिकी डलर प्राप्त गर्नका लागि शोधकर्ताहरूले उत्पादकले बनाएको विशेष एन्ड्रोइड फोनमा जडित चिपलाई असर पार्न सक्ने तरिका खोज्नुपर्ने हुन्छ।

तर एक विश्लेषकले भने पुरस्कार रकम बढाउँदैमा त्यस्ता त्रुटि पत्ता लगाउन सक्नेहरूको व्यवहारमा परिवर्तन नआउने बताएका छन्।

बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here