ग्लोबल आइएमई र जनता बैंकको मर्जर अन्तिम चरणमा, आउँदो साता अनुमति पाउँदै

काठमाडौं १०, मंसिर । आउँदो साता ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जर टुङगिने भएको छ । यी बैंकले एकिकृत कारोबार (अन्तिम स्वीकृति)का लागि गत साता नै राष्ट्र बैंकमा आवेदन दिएका छन् । दुबै बैंकले साधारणसभाबाट मर्जर प्रस्ताव पारित गरेपछि अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएका हुन ।

नियमन विभागले आउँदो बिहीबार बस्ने सञ्चालक समितिमा सो प्रस्ताव पनि पेश गर्दैछ । सोही बैंठकबाट ती बैैकलाई एकिकृत कारोबारकालागि अन्तिम स्वीकृति दिइने राष्ट्र बैंक स्रोतले बताएको छ ।

मर्जरका लागि यी बैंकले गत असारमा सहमतिपत्रमा हस्ताक्षर (एमओयू) गरेका थिए ।
मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ । सञ्चालक समितिको अध्यक्षमा हाल ग्लोबल आइएमइका अध्यक्ष ढकालले नै रहनेछन् । सञ्चालक समितिमा ग्लोबल आइएमईबाट
पाँच जना र दुई जना जनता बैंकबाट रहने सहमति भएको छ ।

मर्जरपछि बन्ने नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्री रहने छन् । कुँवर हाल जनता बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । वरिष्ठ डेपुटी सीईओमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने छन् ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीच तथा लघुवित्त वित्तीय संस्थाहरुबीच गाभ्ने/गाभिने तथा प्राप्तिलाई प्रोत्साहित गर्न विभिन्न नीतिगत ब्यवस्था कार्यान्वयनमा ल्याएको छ । २०७६ असोजसम्म कुल १ सय ७८ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । जसमध्ये १ सय ३५ संस्थाको इजाजत खारेज हुन गई कुल ४३ संस्था कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here