बार्सिलोनाको सहज जित, मेस्सीको दुर्लभ किर्तिमान

काठमाडौं,१२ मंसिर । यूईएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले जित हात पारेको छ । अन्तर्गतको ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’ अन्तर्गत बुधबार क्याटलान क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमुन्ड ३-१ गोल अन्तरले सजिलै पराजित गरेको हो।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लुईस स्वारेज, लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले समान एक–एक गोल गरे । उता डर्टमण्डका लागि जोडान सान्चोले एक गोल फर्काए ।

बर्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलको पहिलो मिनेटमा नै डर्टमुन्डले गोल गर्ने सुन्दर अवसर पाएपनि सदुपयोग गर्न सकेन। त्यसपछि भने पहिलो दोस्रो हाफको पुरै अवधिभरि बार्सिलोना हाबी भयो।

पहिलो हाफमा बार्सिलोना मेस्सी र स्वारेजको समान एक गोल र ‘असिस्ट’ को मद्दतमा २-० ले अग्रता लियो। तेस्रो गोल फ्रेन्च फरवार्ड ग्रिजम्यानले खेलको दोस्रो हाफमा मेस्सीको पासमा गरे।

बार्सिलोनाको लागि लुईस स्वारेजले खेलको २९ औँ मिनेटमा मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। गोल गरेको ४ मिनेटपछि नै उनले मेस्सीलाई गोल पास गर्न पास मिलाई दिए। मेस्सीको ३३ औँ मिनेटको गोलसंगी बार्सिलोना पहिलो हाफमा २-० ले अगाडि रह्यो। तेस्रो गोल भने खेलको ६७ औँ मिनेटमा ग्रिजम्यानले गर्दै बार्सिलोनाको जितसँगै दोस्रो चरणको यात्रा सुनिश्चित गरे।

डर्टमुन्डको लागि एक मात्र गोल जादोन सान्चोले खेलको दोस्रो हाफमा गरे। उनले खेलको ७७ औँ मिनेटमा जुलियन ब्राड्सको पासमा आकर्षक गोल गरेका थिए। तर उनको गोल हार रोक्न पर्याप्त भएन। यो हारले दोस्रो चरणमा पुग्ने डर्टमुन्डको सपनामा धक्का पुगेको छ।

आजको जितसँगै बार्सिलोना ५ खेलमा ११ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदै च्याम्पियन्स लिगको दोस्रो चरणमा प्रवेश गरेको छ। यसै समुहको अर्को खेलमा इन्टर मिलानले आजको खेलमा स्लाभिया प्रागलाई ३- १ ले पराजित गर्दै डर्टमुन्डलाई पछि पार्दै तालिकाको दोस्रो स्थानमा उक्लेको छ। समान अंक भएपनि डर्टमुन्ड गोल अन्तरले पछि पर्दै तालिकाको तेस्रो स्थानमा रहेको छ। स्लाभिया प्राग भने ५ खेलमा जम्मा २ अंकसहित पुच्छरमा छ।

फुटबल सुपरस्टार लियोनेल मेस्सीले आफ्नो क्लब करियरको ७०० औँ खेलमा च्याम्पियन्स लिगको ३४ फरक क्लबविरुद्व गोल गर्ने दुर्लभ इतिहास बनाउँदै बार्सिलोनालाई ‘नकआउट’ चरणमा पुर्‍याएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here