एकैचोटि ३०० एयरबस किन्दै चीन

चीनले एयरबससँग ठूलो परिणाममा विमानहरु अर्डर गरेको छ । प्रतिस्पर्धी कम्पनी बोइङ ७३७ म्याक्स विमानको कारण अप्ठेरो स्थितिमा परेको बेलामा एयरबसले चीनसँग विमान खरीदसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेको छ ।

फ्रान्सेली विमान निर्माताका अनुसार चिनियाँ एयरलाइन्सले उनीहरुसँग ३०० वटा प्यासेन्जर विमानको अर्डर गरेको जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको फ्रान्स भ्रमणको क्रममा उक्त सम्झौतामा हस्ताक्षर भएको बताइएको छ ।

उक्त सम्झौता अनुसार चिनियाँ पक्षले एयरबससँग २९० वटा ए३२० विमान र १० वटा ए३५० विमान खरिद गर्नेछ । तिव्र रुपमा बढ्दै गएको घरेलु उड्ययन बजारलाई सम्बोधन गर्न चीनले ठूलो परिणाममा यी विमानहरु अर्डर गरिएको बताइएको छ ।

खरीद सम्झौता कतिमा भयो भन्ने बारे एयरबसले केही खुलाएको छैन । एयरबसको मूल्य सूची अनुसार उक्त बिमानहरुको मुल्य ३५ अर्ब डलर अर्थात करिब ३८ खर्ब नेपाली रुपैयाँ आसपास रहेको अनुमान गर्न सकिन्छ । तर, ठूला अर्डरहरुमा खरिदकर्ताले विशेष छुटहरु प्राप्त गर्न सक्छन् ।

एयरबस ए३२० र बोइङको ७३७ म्याक्स विमानको सिधा प्रतिस्पर्धा रहेको छ । एयरबसको प्रतिस्पर्धी कम्पनी बोइङको धेरै बिक्री हुने ७३७ म्याक्स विमान पाँच महिनाको अन्तरालमा दुई ठूला दुर्घटनामा परेपछि बोइङ अहिले समस्याग्रस्त छ ।

यसै महिनाको सुरुमा इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेपछि सबैभन्दा पहिले चीनले उक्त मोडलको विमान उडानमा प्रतिबन्ध लगाएको थियो ।

यस्तै गत सातामात्रै इन्डोनेसियाको गरुडा एयरलाइनले पनि बोइङसँगको ४९ वटा ७३७ म्याक्स विमान खरिद गर्ने सम्झौता रद्द गर्न चाहेको बताएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here