श्रम स्वीकृतिका लागि आजदेखि ई-टोकन, यसरी लिनुहोस्

काठमाडौं, १५ मंसिर । वैदेशिक रोजगार विभागले आइतबारदेखि श्रम स्वीकृतिका लागि अनलाइनबाटै टोकन लिने व्यवस्था लागू गर्दैछ ।

वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रियालाई पूर्णतयाः अनलाइन प्रणालीमा लैजाने योजना अन्तर्गत ई–टोकन अर्थात विद्युतीय पालो प्रणालीले सुरु गर्न लागेको हो ।

निवर्तमान श्रम मन्त्री गोकर्ण विष्टकै पहलमा बैदेशिक रोजगार विभागले ५ महिना अगाडीबाटै शुरु गरेको श्रम स्वीकृतिका लागि अनलाइन प्रणाली आजदेखि कार्यान्वयनमा लागेको हो ।

विभागका महानिर्देशक भिष्म भुषालका अनुसार अब युवाले श्रम कार्यालयमा थामिनसक्नु लाइन बसेर श्रम स्वीकृति लिनु पर्ने छैन ।

जसले गर्दा युवा लाइनमा त बस्नु पर्ने छैन नै, विचौचिया र दलालहरुको हालिमुहालीसमेत अन्त्य हुने भएको छ । युवाले इ-टोकनका माध्यमबाट आफ्नो पालो पर्ने दिन श्रम कार्यालय पुगी सहजै श्रम स्वीकृति लिन सक्नेछन् ।

यसरी लिनुहोस्

श्रम स्वीकृतिका लागि अनलाइन फारम भर्ने बित्तिकै श्रम स्वीकृति लिने पायकको कार्यालय आफैले रोज्न सकिने छ । जहाँ छिटो पालो आउँछ, सोही कार्यालय रोजेर स्वीकृति लिन पाइने भएको छ । श्रम स्वीकृति स्वीकृत भएको वा नभएको जानकारी मोवाइलमा एसएमएसका माध्यमबाट आउने भएको छ ।

कुन कार्यालयमा छिट्टै पालो आउँछ, त्यो कार्यालयसमेत रोज्न सकिने छ । जसले गर्दा फाराम स्वीकृत हुने वित्तिकै कार्यालयमा पर्खिरहनुपर्ने छैन । अहिले सरकारले प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को काठमाडौँ (ताहचल) , गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीबाट श्रम स्वीकृति जारी हुँदै आएको छ ।

त्यसैगरी श्रम स्वीकृतिको फाराम बुझाइसकेपछि कुनै कारणले तपाईको श्रम स्वीकृति अस्वीकृत हुने भएमा वा थप कागजात पेश गर्नुपरेमा पनि मोबाइलमा मेसेज प्राप्त हुनेछ ।

विभागले श्रम स्वीकृतिको फारम भर्दा सही मोबाइल नम्बर र इमेल राख्न आग्रह गरेको छ । विभागले वैदेशिक रोजगारीका क्रममा लाग्ने खर्च विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

विद्युतीय भुक्तानी प्रणाली लागु भइसकेपछि बीमा र कल्याणकारी कोषको पैसा तिर्न बैकमा जानुपर्ने वा बिचौलियाको सहयोग माग्नुपर्ने अवस्था हुनेछैन कामदार छनोट प्रणालीलाई पारदर्शी र अनुमानयोग्य बनाउन अनलाइन प्रणालीसमेत तयार गरी लागू गर्ने तयारी भइरहेको भुषालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here