कुखुरामा नेपाल आत्मनिर्भर,भन्सारबाटै भित्रिन्छ अवैध मासु

काठमाडौं, १६ मंसिर । सरकारले मासुजन्य वस्तुको आयातलाई निरुत्साहित गर्दै उत्पादन बढाउने नीति अबलम्वन गरेको छ ।

कुखुराको मासुमा मुलुक करिब आत्मनिर्भर भएको भन्दै भारतबाट आउने जिउँदो कुखुरामा समेत व्यवसायीले स्वनियमन गरिरहेका छन् ।

वैधानिक रुपमा तयारी मासुको आयात भने नेपालमा न्यून छ, तर मुलुकमा ठूलो परिमाणमा अवैध मासु भित्रिरहे पनि त्यसको नियन्त्रण गर्न सकिएको छैन । भन्सार कार्यालयको बाटो हुँदै हजारौँ किलो मासु भित्रिरहेको हालैको एक घटनाले पुष्टि गरेको छ ।

दुईवटा गाडीमा हालेर भारतबाट ल्याइएको रु ६० लाख मूल्यको १२ हजार किलो मासु बरामद भएसँगै बाह्य मुलुकबाट अवैधरुपमा ठूलो परिमाणको मासु भित्रिने गरेको तथ्य खुलेको हो । करिब पाँच/सात वर्ष अघि यसैगरी अवैधरुपमा भित्रिएको एक कन्टेनर मासु धादिङ्को धार्केमा नष्ट गरिएको थियो ।

त्यसपछि यति ठूलो परिमाणको मासु बरामद नभएको पशुसेवा विभागका वरिष्ठ पशु अधिकृत डा चन्द्र ढकाल बताउँछन् ।

राजश्व अनुसन्धान विभागले बरामद गरेको १२ हजार किलो मध्ये दश हजार ८०० किलो कुखुराको मासु भेटिएको थियो । बाँकी हाँस, माछा, राँगाको मासु रहेको जनाइएको छ ।

सञ्चय गर्न नसकिने भएकाले मासुलाई खाल्डोमा हालेर नष्ट गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

मासु आयातमा भन्सार कर्मचारीकै मिलेमतो रहेको आशङ्कामा विभागले अनुसन्धान केन्द्रित गरेको छ । “कुन तहको सहभागिता छ भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्छ, अहिले कर्मचारीको बयान लिने काम भइरहेको छ”, एक अनुसन्धान अधिकृतले भने ।

उक्त मासु भारतको गुजरातबाट ल्याइएको हो । त्यहाँबाट वीरगञ्ज या भैरहवा नाका हुँदै मासु आउनुपर्नेमा २५० किलोमिटर टाढा पर्ने सर्लाहीको मलङ्गवा नाकाबाट मासु भित्रिएको छ । अन्य नाकाबाट नसक्ने देखेपछि उनीहरुले मलङ्गवा नाका रोजेको विभागका एक अनुसन्धान अधिकृतको दावी छ ।

उनीहरुले ‘एसी भ्यान’ मा राखेर मासुसँगै आलु चिप्सलगायतका खाद्य वस्तु भित्र्याएका थिए । अन्य चिजवस्तु न्यून देखाएर भन्सार छलेको र मासु भने अवैधरुपमा भित्र्याएको पाइएको छ । मासु आयातमा प्रयोग भएको दुई वटा गाडी पनि नियन्त्रणमा लिइएको छ ।

मासु आयातमा सङ्लग्न चार जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको विभागका महानिर्देशक मैनालीले बताए । राजश्व छलीको आरोपमा पक्राउ पर्नेमा सिआर ट्रेडिङका सञ्चालक सर्लाहीकी रिङ्कु चौधरी र काठमाडौँको दीपज्योति इन्टर प्राइजेजका वासुदेव मरहठ्ठा छन् । एउटा गाडीका चालक र सहचालक पनि पक्राउ परका छन् भने एक चालक फरार रहेको विभागले जनाएको छ ।

सामान कात्तिक २० गते भित्रिएको हो । उनीहरुले मलङ्गवाबाट सामान भित्र्याउँदै छन् भन्ने सूचना प्राप्त भएपछि विभागको टोली खटिएको थियो । सर्लाहीबाट सामान भित्रिएपछि विभागको टोलीले पिछा गरेका थिए । थानकोट नाका भित्रिएपछि सामान नियन्त्रणमा लिएर उनीहरुलाई पक्राउ गरिएको हो । विभागले गाडी मूल्याङ्कनको चरणमा पठाएको छ भने मासुबाहेकका अन्य सामान ७० लाख रूपैयाँमा लिलाम गरेको छ ।

“सामान ल्याउँदा भन्सार घोषणा गर्नुपर्छ तर कुनै पनि प्रक्रिया पुर्याइएको पाइएन, सोझै आर्थिक अपराध गरेको देखिन्छ”, महानिर्देशक मैनालीले भने । उक्त कम्पनीले यसअघि पनि ८/१० पटक यसैगरी सामान आयात गरेको देखिएको छ ।

उनीहरुले राजश्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण ऐन० २०५२ को कसुर गरेको आरोपमा मुद्दा चलाउने तयारी गरिएको विभागले जनाएको छ । दोषी प्रमाणित भए बिगो असुल गरी दोब्बर जरिवाना तथा तीन वर्षको कैद सजाय हुनेछ ।

विभागले राजश्व छलीमा मात्रै गत डेढ वर्षको अन्तरालमा सय जना विरुद्ध सात अर्ब रूपैयाँ बिगो बराबरको राजश्व छली गरेको आरोपमा मुद्दा चलाएको छ । चालू आर्थिक वर्षमा मात्रै रु दुई अर्ब बिगो बराबरको राजश्व छलीमा मु्द्दा चलाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here