आरुघाट र खहरेको मुआब्जा निर्धारण,स्थानीय वासिन्दा आन्दोलनमा

काठमाडौं, १६ मंसिर । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने मुख्य बजारक्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरिएको छ।

दुबै जिल्लाको मुआब्जा निर्धारण समितिको संयुक्त बैठकले डुबानमा पर्ने जग्गालाई विभिन्न समूहमा वर्गिकरण गरि मूल्य निर्धारण गरिएको हो। जसमा धादिङको आरुघाट र खहरे तथा गोरखाको आरुघाट र आर्खेत पर्नेछन् ।

जसअन्तरगत आरुघाट बजारतर्फ मुख्य सडकले छोएको ठाउँमा आनाको साढे २ लाखदेखि ७ लाख रुपैयाँसम्म, सहायक मार्ग भएका ठाउँमा आनाको २ लाख २५ हजारदेखि ३ लाखसम्म, गोरेटो बाटो भएका जग्गामा आनाको १ लाख ५० हजार र कुनैपनि प्रकारका बाटो नभएको जग्गामा आनाको ५० हजार रुपैयाँ तोकिएको स्रोतले जनाएको छ ।

त्यस्तै धादिङको खहरे बजारतर्फ मुख्य सडकसँग जोडिएको १०० फिटसम्मको जग्गालाई आनाको ९० हजारदेखि १ लाख २० हजारसम्म मुआब्जा तोकिएको छ। त्यस्तै १०० फिटको रेन्ज भन्दा बाहिरको जग्गालाई आनाको ५० हजार तोकिएको छ ।

आर्खेत बजारमा मोटरवाटो दायावायाका घडेरी र घर भएका जग्गाहरुको प्रति आना १ लाख २० हजार मुआब्जा निर्धारण गरिएको छ । आर्खेत बजार क्षेत्रका अन्य डुवानमा पर्ने जग्गाहरुले प्रति आना ५० हजार रुपैयाँ पाउने बताइएको छ ।

सम्पूर्ण घर जग्गा अधिग्रहणमा परी विस्थापित हुने र अन्यत्र कहिँ कतै घरजग्गा नभएका विस्थापितहरु, २।५ आना सम्म जग्गा हुने र २.५ आना देखि ५ आनासम्म मात्र जग्गा हुने परिवारले मुआब्जामा क्रमश १५ र १० प्रतिशत थप गरी मुआब्जा रकम वितरण गर्ने निर्णय मुआब्जा निर्धारण समितिले गरको छ ।

तर दुवै जिल्लाको मुख्य बजार क्षेत्रको भने मुआब्जा निर्धारण भएको थिएन । लामो समयदेखि जग्गा रोक्का राखेको तर मुआब्जा भने नदिइएको भन्दै बजारक्षेत्रका बासिन्दा चरणबद्ध आन्दोलनमा छन् । उनीहरुले दोस्रो चरणको आन्दोलनको तयारी गरिरहेकै बेला बजारक्षेत्रको मुआब्जा निर्धारण गरिएको हो ।

बुढीगण्डकी आयोजनाको डुबानमा पर्नेमध्ये अहिलेसम्म ४४ हजार ६ सय ५८ रोपनी जग्गाको २६ अर्ब ८४ करोड ४६ लाख ४९ हजार रुपैयाँ मुआब्जा वितरण भइसकेको छ ।

मुआब्जा निर्धारण भएपछि अब बजारक्षेत्रको करिब १७ सय ७० रोपनी जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु हुनेछ । चालु आर्थिक वर्षमा सरकारले बुढीगण्डकी आयोजनाका लागि १४ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here