बिमा पहुँच १७ प्रतिशत पुग्यो

 

काठमाडौं १४, चैत ।

करिब तीन करोड नेपालीमध्ये १७ प्रतिशतले बिमा गरेका छन् । यो गत पुससम्मको तथ्यांक हो । बाँकी ८३ प्रतिशतमा बिमा पहुँच पुग्न सकेको छैन । गत पुससम्म ५२ लाख ५० हजार १ सय १७ बिमालेख जारी भएको बिमा समितिले जनाएको छ ।

जारी भएका बिमालेखको संख्यालाई नै आधार मानेर त्यत्तिनै नागरिकमा बिमा पुग्यो भन्न मिल्दैन । बिमा पहुँच गणना गर्दा जीवन बिमालाई मात्र समावेश गरिन्छ । निर्जीवन बिमा एक वर्ष वा निश्चित समयावधि (म्यादी) प्रकृतिको हुने भएकाले बिमा पहुँच गणनामा नसमेटिएको । अन्तरराष्ट्रिय स्तरमा पनि यसैगरी बिमा पहुँच गणना गरिन्छ ।

बिमा समितिका अनुसार गत पुससम्म जारी भएका ५२ लाख ५० हजार बिमालेख मध्ये केही दोहोरिएको (एकै व्यक्तिले एकभन्दा बढी बिमा गरेको) हुन्छ । यसकारण बिमा पहुँच गणना गर्दा दोहोरिएको संख्या घटाउनु पर्छ । अन्तरराष्ट्रिय मान्यता अनुसार बिमा पहुँच गणना गर्दा कुल जारी भएका बिमालेखमा ५ प्रतिशत घटाइन्छ ।

यो विधि अनुसार नेपालमा जारी भएको करिब साढे ५२ लाख बिमालेख घटाउँदा बाँकी ४९ लाख ८७ हजार ६ सय २१ हुन आउँछ । यसलाई गत पुससम्मको कुल अनुमानित जनसंख्या (२ करोड ९४ लाख ७० हजार ९ सय २६) सँग अनुपात निकाल्दा करिब १७ प्रतिशतमा बिमा पहुँच पुगेको देखिन्छ । गत वर्षको सोही अविधिमा बिमा पहुँच करिब १० प्रतिशत थियो ।

माथीको तथ्यांकमा वैदेशिक रोजगारमा गएका नेपालीले गरेको बिमा समावेश छैन । यस्तो बिमा अनिवार्य र निश्चित अवधिका लागि हुने भएकाले बिमा पहुँचमा समावेश नगरिएको हो । यस्तै, निजीवन बिमा र स्वाथ्य बिमा पनि यो तथ्यांकमा समेटिएको छैन । यी सबै बिमा जोडने हो भने बिमा पहुँच करिब २३ प्रतिशत भन्दा बढी पुग्ने विज्ञहरू बताउँछन् ।

मानिसमा बिमासम्बन्धी चेतना नहुनुका साथै सेवा प्रदायक कम्पनी सहर तथा सुविधा सम्पन्न क्षेत्रमा सीमित भएकाले जनसंख्याको ठूलो हिस्सा बिमाको पहुँचबाट बञ्चित हुन पुगेका विज्ञहरु बताउँछन् ।

गत वर्ष नयाँ कम्पनी थपिनुका साथै बिमासम्बन्धी चेतना पनि बढेकाले बिमा पहुँच बढेको बिमा समितिले जनाएको छ । नयाँ कम्पनी थपिएपछि प्रतिस्पर्धा बढेकाले कम्पनीहरू गाउँगाउँ जानथालेको र यसले बिमा पहुँच वृद्धिमा टेवा पुगेको उनीहरुको भनाइ छ ।

मोफसलका विभिन्न स्थानमा बिमा शिक्षा अभिवृद्धिका लागि विभिन्न प्रशिक्षण तथा चेतनामुलक कार्यक्रम सञ्चालन भइरहेकाले बिमा पहुँच पनि अझै बढ्ने उनीहरुको दाबी छ । आउँदो असारसम्म बिमा पहुँच २० प्रतिशत पुर्याउने लक्ष्य समितिले लिएको छ ।

बिमा सेवा विस्तारसँगै कुल गार्हस्थ उत्पादन (जीडीपी) मा बिमा क्षेत्रको योगदान पनि बढेर करिब साढे २ प्रतिशत पुगेको छ । गत असारमा यस्तो योगदान २.०३ प्रतिशत रहेकामा हाल २.५ प्रतिशत पुगेको समितिले जनाएको छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्म जीडीपीमा बिमाको योगदान ३ प्रतिशत बढी पुग्ने जानकारहरु बताउँछन । हाल ३९ बिमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये १९ वटा जीवन बिमा र २० वटा निर्जीवन बिमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here