आठौं अन्तराष्ट्रिय व्यापार मेला काठमाण्डौंमा सुरु, नेपालको भन्दा चीनको धेरै स्टल

काठमाडौं, १४ चैत । नेपाल उद्योग वाणिज्य महासंघले वार्षिक रुपमा आयोजना गर्ने अन्तराष्ट्रिय व्यापार मेलाको आठौं संस्करण काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

चैत १४ देखि १८ गतेसम्म चल्ने मेलाको उद्घाटन मन्तव्य प्रधानमन्त्री केपी शर्मा ओलीले दिए भने उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले उद्घाटन गरे ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु रहेका छन् ।

मेलामा सबैभन्दा धेरै स्टल चीनको रहेको छ । मेलामा चीनबाट ९०, नेपालबाट ८३, बङ्गलादेशबाट ४०, भारतबाट १० र पाकिस्तानबाट २ गरि जम्मा २ सय २५ वटा स्टलहरु  राखिएका छन् ।

मेला उद्घाटनको क्रममा बोल्दै प्रधानमन्त्री ओलीले व्यापारको गतिलाई तिव्र बनाउन र बहुआयामिक विकास गर्नको लागि वैदेशिक लगानीको महत्वपर्ण भुमिका रहने बताए ।

लगानी सम्मेलनको आयोजना हुँदै गर्दा अन्तराष्ट्रिय व्यापार मेला हुनु गौरवको कुरा भएको पनि उनले बताए । शुक्रबार देखी काठमाडौंमा नेपाल सरकारको आयोजनामा लगानी सम्मलेन हुँदैछ ।

कानुनी र नीतिगत व्यवहारमा परिवर्तन गर्दै दोहोरो कर व्यवस्थालाई अन्त्य गरी अन्तराष्ट्रिय लगानी मैत्री वातावरणको निर्माण गर्नमा सरकार लागी परेको पनि प्रधानमन्त्री ओलीले बताए ।

उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मेलाले लगानी सम्मेलनलाई सघाउने बताइन् ।

के के छन् त मेलामा आकर्षण ?

मेलामा विभिन्न देशका उत्पादनहरुले स्थान पाएका छन् । दैनिक जीवनमा प्रयोग हुने सम्पुर्ण सामाग्रीहरु मेलामा उपलब्ध छ ।

नेपाली हस्तकलाका सामाग्रीहरु धेरै मात्रामा छन् । कृषि उत्पादन जस्तै चिनियाँ स्याउ, मह, सुपारीको पातबाट बनेका भाँडाहरु, जडिबुटि लगायतका वस्तु छन् ।

त्यस्तै विभिन्न प्रकारका कपडाहरु, धातुका विभिन्न मुर्ति, रुद्राक्ष, भान्छामा प्रयोग हुने सामानहरु, सजावटका सामानहरु, आयुर्वेदिक औषधि तथा उत्पादनहरु, खानेकुरा लगायतका स्टलहरु मेलामा रहेका छन् ।

पाँच दिनसम्म चल्ने मेलामा एक लाख भन्दा बढी आगन्तुकहरुले अवलोकन गर्ने र एक करोड पाँच लाखभन्दा बढिको ब्यापार गर्ने लक्ष्य राखिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here