पोल्ट्री व्यवसाय संकटमा, १० दिन चल्ला उत्पादन बन्द

चितवन, २८ मंसिर । देशभरका ह्याचरी उद्योगबाट १० दिनसम्म चल्ला उत्पादन बन्द हुने भएको छ । व्यवसायीकै पहलमा देशभर चल्ला उत्पादन बन्द हुन लागेको हो ।

कुखुराको उचित मूल्य नपाएपछि व्यवसायीले देशैभर नै उत्पादन बन्द गर्नुपरेको नेपाल ह्याचरी उद्योग संघले उल्लेख गरेको छ । शनिबार पत्रकार सम्मेलनमार्फत संघले उक्त जानकारी गराएको हो ।

उत्पादन लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएपछि शुक्रबार देशभरबाट १ सय ५० ह्याचरी उद्योगी व्यवसायी चितवन भेला भएका थिए ।

उनीहरुले नै उत्पादन बन्द गर्ने निर्णय गरेका हुन् । आइतबारदेखि १० दिनसम्म अब चल्ला उत्पादन बन्द हुने भएको हो ।

व्यवसायीले चल्ला उत्पादन गर्न ह्याचरी मेसिनमा राखेका अण्डा समेत नष्ट गर्ने भएका छन् । संघको तथ्यांक अनुसार १० दिनमा देशभरका ह्याचरी उद्योगबाट करिव ६० लाख चल्ला उत्पादन हुने गरेको छ ।

नेपालमा अहिले प्रतिसाता ४५ लाख ब्रोइलर चल्ला, २ लाख ५० हजार लेयर्स चल्ला र १ लाख ७० हजार कलर ब्रोइलर चल्ला उत्पादन हुने गरेको संघको भनाई रहेको छ ।

कुखुराका दाना मंहगो भएपनि लागत अनुसार उत्पादनले मूल्य नपाएको व्यवसायीको गुनासो रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here