नेपाल वेयरहाउजिङ र भारतीय कोल्याटरलवीच भण्डारण गृह स्थापनामा सहकार्य

काठमाडौं, १४ फागुन । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले स्थापना गर्न गईरहेको ५५ हजार मेट्रिक टन क्षमताको व्यवसायिक अन्न भण्डारणको सञ्चालनका लागि भारतको नेशनल कोल्याटरल म्यनेजमेण्ट कम्पनीसँग प्राबिधिक सहकार्य गर्ने भएको छ ।

दुवै कम्पनीले शुक्रवारदेखि शुरु हुने नेपाल लगानी सम्मेलनको अवसरमा समझदारीपत्रमा हस्ताक्षर गर्ने बताएका छन् ।
नेपाल वेयरहाउजिङले सुनसरी, पर्सा र कपिलबस्तुमा १/१ वटा आधुनिक भण्डारण गृह स्थापना गर्दैछ जसमा पहिलो चरणमा धान, मकै र भटमास अनि दोस्रो चरण मा चामल को भन्डारण हुनेछ ।

यी भण्डार गृहमा किसानले ल्याएको अन्नहरुलाई सफाई गरी उचित चिस्यानको व्यवस्थापन गरी, बैज्ञानिक तवरले सुरक्षित भण्डारण गर्नुका साथै मण्डी र वेयरहाउजिङ रसिद प्रदान गरी लगानीको वित्तीयकरण गराई दिने योजना ल्याउने कम्पनीले बताएको छ ।

नेपाल वेयरहाउजिङका अनुसार यस परियोजनाले बिभिन्न बैंकसँगको सझेदारीमा वेयरहाउजिङ रसिदको सेवा उपलब्ध गराउने छ, जसअन्तर्गत किसानले ल्याएको अन्नको उचित मूल्याङ्न गरी किसानलाई रसिद प्रदान गरिनेछ र किसानको अन्नको सुरक्षित भण्डारण गरिनेछ ।

किसानले सो रसिद कम्पनी कै हातामा रहेका बैंकमा बुझाई आफनो अन्नको मूल्यको ७०% सम्मको कर्जा लिन सक्ने छन् । यसो गर्दा किसानले आफनो अन्नको उचित मूल्य नपाउञ्जेल सम्म बिक्री गर्न बाध्य हुने छैनन ।

अन्नको व्यापारमा बिचौलियाहरुको प्रभाव न्यूनिकरण गर्न, माईक्रो बैकिङ्गको सेवा प्रदान गर्न, वित्तीय क्षेत्रको सेवाहरुमा किसानको पहँुच बढाउन, अन्न बजारको क्षमता बढाउन, किसानको बजार सम्मको पहुँच बढाउन, किसानको आय आर्जनमा बृद्धि हुने अन्नको व्यापार र बजारीकरणमा अनुगमन गर्न सरकारलाई सजिलो बनाउन र कृषि केन्द्रित औद्योगिक क्षेत्रको बिकासमा मद्दत पुर्याउन यो परियोजनाले सघाउने कम्पनीले बताएको छ ।

नेशनल कोल्याटरल म्यनेजमेण्ट कम्पनी भारतमा अग्रणी अन्न व्यवस्थापन कम्पनी हो । भारतका ८०० भन्दा बढी स्थानहरुमा यस कम्पनीले अन्न व्यवस्थापनसम्बधी सेवा दिंदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here