चिसोले बढायो हिटरको ब्यापार, २ हजार ५ सयसम्मका हिटरको माग बढी

जितेन्द्र खनाल

काठमाडौं, १३ पुस । काठमाडौंको तापक्रम घटेसँगै चिसोबाट बच्नको लागि विद्युतीय हिटर र एयर कन्डिसन जस्ता तापक्रम बढाउने विभिन्न प्रकारका उपकरणहरुको प्रयोग बढ्न थालेको छ ।

खासगरी घर, अफिस, कलेज, कार्यालय जस्ता स्थानहरुमा धेरै मात्रामा हिटरको प्रयोग हुने गरेको छ । एकै ठाउँमा बसेर काम गर्नुपर्ने मानिसका लागि बढ्दै गरेको चिसोले समस्या सिर्जना गर्न थालेपछि व्यक्ति तथा कार्यालयहरुले हिटरको प्रयोग बढाएका हुन् ।

त्यसमाथि बढ्दो चिसोले विभिन्न प्रकारका स्वास्थ्य समस्या बढाउने र कर्मचारीको उत्पादकत्वसमेत घटाउने भएकाले पनि कार्यकक्ष न्यानो राख्नु बाध्यता नै बनेको छ ।

मौसम विभागले काठमाडौंको तापक्रम १ डिग्रीभन्दा तल झरेको बताएको छ । विभागले चिसो माइनसमा जाने संकेत पनि गरेको छ ।

चिसो बढेसँगै नेपाली तथा विदेशी विभीन्न ब्राण्डका हिटरको बढ्दै गएको व्यापारीहरु बताउँछन् । नेपाली बजारमा रु। १ हजार ५ सय देखिका हिटरहरु उपलब्ध छन् ।

दैनिक १५ वटासम्म हिटर बिक्री हुन्छ

विगत १० वर्षदेखि कलंकीमा इलेक्ट्रोनिक पसल सञ्चालन गर्दै आएका अमृत श्रेष्ठका अनुसार यो वर्षको चिसोको कारण हिटरको माग अत्याधिक बढेको छ ।

‘चिसो अत्याधिक बढेको कारण पनि होला यो वर्ष हिटरको माग बढेको छ’ उनले भने, ‘हामीले दैनिक १५ वटा सम्म हिटर बिक्री गरेका छौं ।’

व्यवसायी श्रेष्ठका अनुसार चिसो घट्ने क्रम शुरु नभएकाले हिटरको माग र बिक्री झनै बढ्दै जानेछ ।

‘चिसो त भर्खरै बढ्दै छ, कम्तीमा पनि माघ महिनासम्म त चिसो रहिरहन्छ’ उनले भने, ‘त्यसकारण पनि हिटरको माग र व्यापार बढ्दै जान्छ जस्तो लाग्छ ।’

लोडसेडिङको समस्या नभएको कारण पनि हिटरको माग र प्रयोग बढ्न थालेको हो । पछिल्लो समय बत्ती जाने समस्याको अन्त्य भएसँगै नेपालमा इलेक्ट्रोनिक्स वस्तुहरुको माग र प्रयोग बढ्न थालेको छ ।

त्यस्तै, विगत ७ वर्षदेखि न्यूरोडमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएका समीर महर्जन पनि अघिल्लो वर्षको तुलनामा हिटरको व्यापार बढेको बताउँछन् ।

‘चिसो बढ्दै गएसँगै हिटरको व्यापार पनि बढ्न थालेको छ, अहिले दैनिक १० देखि १२ वटा सम्म हिटरहरु बिक्री हुने गरेका छन्’ उनले भने, ‘ब्राण्ड नै हेरेर लाने मानिसहरु त कम आउँछन् । धेरै मात्रामा भने २ हजार देखि २५ सय सम्मका हिटरहरु खोज्नेहरु आउँछन् ।’

अनलाईन सपिङको प्रभाव देखिन थालेको छः व्यवसायी

हिटरको व्यापारमा पनि अनलाईन सपिङको प्रभाव देखिन थालेको कालिमाटीमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएका दमन चन्द बताउछन् ।

‘चिसो बढेपनि हिटरको व्यापारमा भने खास्सै परिवर्तन भएको छैन्, दैनिक ५ वटा हिटर बेच्न पनि धौधौ पर्छ कुनै दिन त’ उनले भने, ‘अघिल्लो वर्ष यस्तो समस्या थिएन् । अनलाईन सपिङको कारण पसलमै आएर हिटर किन्ने मानिसहरुको संख्यामा कमी आएको पनि हुनसक्छ ।’

अनलाईनबाट अडर गरेपछि घरमै सामान लिएर जाने कारण मानिसहरु पसलसम्म धाउने क्रम विस्तारै कम हँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here