मुद्दती निक्षेपमा १ अर्ब ४० करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं, १४ पुस । नेपाल राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको १ अर्ब ४० करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।

बैंकले आइतवार सूचना प्रकाशित एक वर्षे मुद्दती निक्षेपको रूपमा २०७६ माघ १ देखि २०७७ पुस २९ गतेसम्मका लागि लगानी गर्न लागेको जनाएको हो ।
बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका कम्पनीहरुका लागि बैंकले निक्षेपमा राख्ने रकम छुट्याएको छ ।

जसका लागि वाणिज्य बैंकहरुले १ अर्ब १२ करोड रुपैयाँसम्म राख्न पाउने छन् । त्यस्तै, विकास बैंकले २१ करोड रुपैयाँ र वित्त कम्पनीले ७ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न पाउने व्यवस्था रहेको छ ।

निक्षेपको रूपमा रकम लिन चाहने बैंकले केन्द्रीय बैंकले तोकेको शर्त पूरा गरी आवश्यक रकम र प्रस्तावित ब्याजदर समेत खुलाएर पुस महीनाको १६ गते दिउँसो ३ बजेभित्र निवेदन पेश गरिसक्नु पर्ने छ ।

बैंकहरूले प्रस्ताव गरेको ब्याजदर लगानी गरिने मितिसम्म मान्य हुने बताइएको छ । केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तनसम्बन्धी सार्वजनिक सूचनाले प्रस्तावित ब्याजदरलाई कुनै असर पारेको मानिने छैन ।

प्रस्ताव पेश गर्दा नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग, अवकाश कोष इकाईलाई सम्बोधन गर्नुका साथै अनिवार्य रूपमा उपदान तथा पेन्सन कोष लगानीको ब्याजदरसम्बन्धी प्रस्ताव पत्र भनी अनिवार्य उल्लेख गर्नुपर्ने बताइएको छ ।

यसको लागि सम्बन्धित बैंकले निश्चित शर्तहरु पालना गर्नुपर्ने पनि बैंकले बताएको छ ।

यस्ता छन् शर्तहरुः

-बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन भएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने,

– बैंकबाट तोकिएको न्यूनतम् पूँजीकोष कायम भएको हुनुपर्ने,

– निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने,

-खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने,

-अघिल्लो आर्थिक वर्षमा सञ्चालन नाफामा रहेको हुनुपर्ने,

– रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने,

-कुनेपनि प्रकारको कारबाहीमा परेको भए, फुकुवा भएको कतिमा ६ महिना पूरा भएको हुनपर्ने,

– सर्वसाधारणको लागि शेयर जारी गरिसकेको हुनुपर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here