काठमाडौं १७, पुस । एटीएम मेसिनबाट दैनिक एक लाख रुपैयाँ सम्म निकाल्न पाइने भएको छ । राष्ट्र बैंकले बिहीबार एटीएमबाट रकम निकाल्न पाइने सीमा बढाएको हो । यसअघि दैनिक ६० हजार रुपैयाँ मात्र निकाल्न पाइने व्यवस्था थियो ।
अब एक पटकमा २५ हजार रुपैयाँ र दैनिक एक लाख रुपैयाँ निकाल्न पाइनेछ । यसअघि एक पटकमा २० हजार मात्रै निकाल्न पाइने व्यवस्था थियो ।
गत भदौमा नक्कली कार्डमार्फत एटीएमबाट रकम चोरी भएपछि राष्ट्र बैंकले सीमा घटाएको थियो ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बिहीबार एकीकृत निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो । नयाँ निर्देशिकामा विद्युतीय भुक्तानी प्रणाली सुरक्षामा विशेष जोड दिँदै सीमा बढाइएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, प्रिपेड कार्डबाट न्यूनतम ५ सय र अधिकतम प्रतिकारोबार २५ हजार रुपैयाँसम्म निकाल्न मिल्ने व्यवस्था पनि भएको छ ।
क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने भए पनि अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म नगद झिक्न सकिने व्यवस्था पनि गरिएको छ ।