एटीएममा सुरक्षा गार्ड राख्नु पर्ने वाध्यता हट्यो, सीसीटीभीबाट निगरानी बढाइने

काठमाडौं १७, पुस । बैंकहरुले एटीएम मेसिनमा २४औं घण्टा सुरक्षा गार्ड नराखे पनि हुने भएको छ । राष्ट्र बैंकले बिहीबारदेखि यस्तो व्यवस्था गरेको थियो । यसअघि हरेक एटीएममा २४औं घण्टा सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था थियो ।

गत भदौंमा राष्ट्र बैंकले सो व्यवस्था गरेको थियो । हरेक एटीएममा सुरक्षा गार्ड राख्न राष्ट्र बैंकले निर्देशन दिए पनि बैंकहरुले मानेका थिएनन ।

सोही कारण अब सीसीटीभीमार्फत निगरानी बढाउने भन्दै राष्ट्र बैंकले यसअघिको निर्देशन खारेज गरिदिएको छ । बिहीबार जारी भएको भुक्तानी प्रणालीसम्बन्धी एकिकृत निदेशिकामा उक्त व्यवस्था हटाइएको छ ।

गत भदौमा चिनिया नागरिकले नक्कली एटीएममार्फत रकम चोरी गरेपछि राष्ट्र बैंकले हरेक एटीएममा गार्ड राख्न निर्देशन दिएको थियो ।

गत कात्तिकसम्म भुलुकभर ३ हजार ५ सय २० एटीएम सञ्चालनमा छन् । जसमध्ये वाणिज्य बैंकका ३ हजार १ सय ५७, विकास बैंकका ३ सय १३ र वित्त कम्पनीका ५० वटा एटीएम सञ्चालनमा रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here