स्याङ्जा, २० पुस । देशभरका खरका छाना विस्थापित अभियान सुरु भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सुरक्षित जनता आवासका लागि पहिलो किस्ताका ३० हजारको चेक हस्तान्तरण गर्दै स्याङ्जाबाट उक्त अभियानको सुरुवात गरेकी हुन् ।
खरको छाना विस्थापित गर्ने अभियान अन्तर्गत स्याङ्जाको वालिङमा खरका छाना भएका जनताहरूलाई चेक हस्तान्तरण गर्दै मन्त्री अर्यालले सरकारको प्रमुख मुद्दा गरिबी निवारण भएको बताईन् ।
नेपालमा १८ प्रतिशत गरिबी रहेकोले सन् २०३० सम्म नेपालमा गरिबी निर्मुल पार्ने अभियानमा लागेको बताउँदै जनताको जीवनको सुरक्षाका लागि सरकारले उक्त कार्यक्रम ल्याएको जानाकारी दिईन् ।
स्याङ्जाको वालिङ, गल्याङ, चापाकोट, भिरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका गरी पाँचवटा पालिकाका दुई सय ५० खरका छाना हटाइने मन्त्री अर्यालले बताईन् ।
स्याङ्जा क्षेत्र नम्बर २ का पाँच पालिकामा यसवर्ष दुई सय ५० घरपरिवारलाई ५० हजारका दरले दुई किस्ता गरी रकम दिइनेछ । बाँकी रहेका खरका छानाको लगत संकलन गरी पुन यसरी नै खरका छाना हटाइनेछ अर्यालले भनिन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रमा यस वर्षभित्रै २ सय ५० घरपरिवारमा टिनका छाना लगाउने अभियानको थालनी गरेकी हुन् ।