विदेशमा रहेका कामदारका समस्या सुन्न कल सेण्टर

काठमाडौं, १८ चैत । रोजगारका लागि विदेशिएका नेपाली कामदारले आफूले भोगेका समस्या सीधै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमक्ष राख्ने व्यवस्था गरिएको छ ।

स्वदेश तथा विदेशमा रहेका नेपाली कामदारको समस्या तथा गुनासो सुन्न र उचित समाधान खोज्नका लागि सोमवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भित्रै एक कल सेण्टरको स्थापना गरिएको छ ।

‘समस्यामा रहेका नेपाली कामदारलाई सहायता गर्ने उद्देश्यले कल सेण्टरको स्थापना गरिएको हो, हामी गुनासो सुन्ने मात्र होइन, समाधान पनि गर्नेर्छौं,’ कल सेण्टरको उद्घाटन गर्दै मन्त्री गोकर्ण विष्टले भने ।

वैदेशिक रोजगारीमा जाँदा ठगीको शिकार भएका, सम्झौतामा उल्लेख भएअनुरुपको रोजगारी वा तलब नपाएका, जेल सजाय भोगिरहेका, स्वास्थ्य, कानूनी वा अन्य सहायताको आवश्यकता रहेका र विभिन्न कारणले नेपाल फर्कन चाहने नेपाली कामदारले आफ्ना गुनासो सो कल सेण्टरमा राख्न र त्यहाँबाट सहायता लिन सक्नेछन् ।

गुनासो दर्ता गर्नका लागि मन्त्रालयले स्वदेशका लागि टोल फ्रि (शुल्क नलाग्ने) फोनको व्यवस्था गरेको छ । त्यसका लागि ११४१ १६६००१५०००५ मा फोन गर्न सकिने छ भने विदेशबाट ००९७७१५९७००८ नम्बरमा फोन गर्नु पर्नेछ । विदेशबाट फोन गर्दा भने शुल्क लाग्छ ।

हालसम्म सरकारलाई राख्ने गुनासो हेलो सरकारसमक्ष पठाउन सकिन्थ्यो जुन एउटा प्रक्रिया पार गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्म पुग्थ्यो । तर, अब सीधै मन्त्रालयमा गुनासो राख्न पाइने भए पछि कामदारका समस्याको समाधान छिटै खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here