कृषि तथा पशुपन्छी कर्जामा ३९ अर्ब लगानी

काठमाडौं, २१ पुस । सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जामा बैंक तथा वित्तीय संस्थाले करिब साढे ४१ अर्ब लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा सहुलियत कर्जा लिनेको संख्या व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकमा बढि रहेको छ ।

सहुलियत कर्जा लिने कूल २० हजार ८६९ मध्ये ९० प्रतिशत अर्थात् १८ हजार ७४३ जनाले कृषि तथा पशुपन्छी शीर्षकमा कर्जा लिएका छन् । यो कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले ३९ अर्ब ७९ करोड ५९ लाख २९ हजार रुपैयाँ लगानी गरेका छन् ।

सहुलियतपूर्ण कर्जामा सबैभन्दा धेरै वाणिज्य बैंकहरुले लगानी गरेका छन् । हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले मात्रै २० हजार १३७ ऋणीलाई ३८ अर्ब ६१ करोड २२लाख ३१ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यस्तै ‘ख’ वर्गका विकास बैंकहरुले सहुलियतपूर्ण कर्जाअन्तर्गत २ अर्ब २७ करोड ७७ लाख ५५ हजार रुपैयाँ ऋण प्रवाह गरेका छन् । विकास बैंकबाट ७१६ जनाले सहुलियतपूर्ण ऋण लिएका छन् ।

कात्तिक मसान्तसम्ममा १६ जनाले फाइनान्स कम्पनीहरुबाट १६ करोड २८ लाख ३९ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा लिएका छन् ।

सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ बनाई ब्याज अनुदान सहित विभिन्न ७ शीर्षकका सहुलियत कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।

कार्यविधि संशोधन गरी हाल ९ शीर्षकमा कर्जा लिन पाइने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here