भीष्मराज ढुंगाना बने धितोपत्र बोर्डको अध्यक्ष

काठमाडौं, २१ पुस । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना छानिएका छन् । अन्तिम पाँच उम्मेदवारमध्ये राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ढुंगानाले बाजी मारेका हुन् ।

सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले उनलाई पुँजीबजारको नियमकको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सेयर बजारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्ड साढे २ महिनादेखि नेतृत्वबिहीन थियो । बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको कार्यकाल असोज मसान्तमा सकिएपछि उक्त पद खाली थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालको संयोजकत्वमा बनेको समितिले बोर्ड अध्यक्षका लागि ८ जनाले दिएको आवेदनबाट पाँच जना छनोट गरेको थियो ।

समितिले बोर्डकै कार्यकारी निर्देशक नीरज गिरी, निमित्त कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख सीताराम थपलिया, राष्ट्रिय बीमा कम्पनीका पूर्व सञ्चालक डा. केशवप्रसाद श्रेष्ठ र राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानालाई सर्ट लिष्ट गरेको थियो ।

सरकारले अध्यक्ष नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने भन्दै छनोट समिति गठन गरेको थियो । समितिको सदस्यमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य थिए ।

समितिले सिफारिस गरेको नाम अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा पेस गर्ने र तिनैमध्येबाट एकलाई बैठकले नयाँ अध्यक्षको रूपमा नियुक्ति दिने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here