नेपाल टेलिकम र सडक विभागबीच सम्झौता

काठमाडौं, २२ पुस । नेपाल टेलिकम र सडक विभागबीच सम्झौता भएको छ ।

सडक र दूरसञ्चार पूर्वाधार निर्माणको क्रममा सहकार्य गरी अगाडि बढ्ने सम्झौता पत्रमा सडक विभागका महानिर्देशक केशव कुमार शर्मा र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका हुन् ।

सडक विभागले द्रुत गतिमा देशभर सडक निर्माण तथा विस्तारको कार्य अगाडि बढाइरहेको र नेपाल टेलिकमले सर्वसाधारण जनताको लागि अत्यावश्यक सञ्चार सेवा मुलुकको अति विकट स्थानसम्म पु-याइरहको अवस्थामा नेपाल टेलिकम र सडक विभागबीच समन्वय र सहकार्य आवश्यक देखिएको अवस्थामा टेलिकम र विभागबीच समझदारी भएको हो ।

नियमित नयाँ सडक निर्माण, सडक विस्तार, मर्मत सम्भार र सडक चौडा गर्ने तथा नेपाल टेलिकमका दूरसञ्चार पूर्वाधारहरु निर्माण तथा सुधारका क्रममा दुवै निकायबाट निर्मित पूर्वाधारका संरचनाहरुमा हानी-नोक्सानी हुनुका साथै निर्माण कार्यमा दोहोरो लगानी हुने र सेवाको गुणस्तरमा समेत प्रतिकुल प्रभाव पर्ने गरेको छ।

समझदारी अनुसार सडक विभागबाट सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक ‘डक्ट’हरु बिछ्याइनेछ।

यस्ता डक्ट बिछ्याउनका लागि आवश्यक पर्ने रकम सम्बन्धित आयोजनाको विस्तृत योजना र अनुमानित लागत अनुसार गरिने शिल कोटेशन वा बोलपत्र बमोजिम निर्क्यौल भएको दररेट बमोजिम नेपाल टेलिकमले सडक विभागलाई भुक्तानी गर्नेछ।

सडक निर्माण तथा स्तरोन्‍नति गर्ने क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्टहरु बिछ्याउन सो समझदारी पत्र र विद्यमान कानुनको अधिनमा रही सडक विभागको सम्बन्धित सडक डिभिजन-योजना कार्यालय र नेपाल टेलिकमको सम्बन्धित कार्यालयबीच विस्तृत सम्झौता गरी कार्यान्वयन गरिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here