अष्ट्रेलियामा गोली हानेर १० हजार उँट मारिँदै

अष्ट्रेलिया,२३ पुस । अष्ट्रेलिया वातावरणीय संकटमा गुज्रिरहेको छ । तीन महिनादेखि लागेको डढेलोका कारण सयौं घरबारविहिन भएका छन् भने पचास करोड पशुपंक्षी जलेर खरानी भएका छन् ।

डढेलोले जंगल सखाप बनाएपछि अष्ट्रेलियामा पानीको हाहाकार हुन थालेको छ । पानीको हाहाकार कम गर्न सरकारले बुधबारदेखि दक्षिण अष्ट्रेलियामा १० हजार उँट मार्ने कार्यको थालनी गरेको छ ।

आगलागीले उत्पन्न सुख्खा मौसमका कारण पानीको हाहाकार मच्चिएपछि ५ दिन लगाएर १० हजार उँटलाई गोली ठोकेर मार्न लागिएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् ।

पानीको हाहाकार हुँदा ऊँटहरुले धेरै पानी पिउन थालेपछि स्थानीयले ऊँट मार्न आग्रह गरेका थिए।

त्यहाँका आदिवासी नेताहरुले सुख्खाग्रस्त क्षेत्रमा खाने पानी बचाउन उँट मार्ने निर्णय गरेपछि पेशेवर शिकारीले हेलिकप्टरबाट गोली प्रहार गरी उँट मार्न थालेका हुन् ।

जनसंख्यालाई नियन्त्रण गर्न अष्ट्रेलियामा उँट मार्ने चलन पहिले देखि रहिआएको छ। अष्ट्रेलियामा १९ औँ शताब्दीमा भारत र अफगानिस्तानबाट भित्राएका उँटको संख्या हाल बढेर १० लाख २० हजार हाराहारीमा छ।

उँट नियन्त्रण नगर्ने हो भने हरेक नौ वर्षमा यसको संख्या दोब्बर हुनसक्ने बताइएको छ। उँटको बढ्दो संख्याले ग्लोबल वार्मिङमा समेत योगदान पुर्‍याएको दाबी कतिपयले गरेका छन्।

कार्बन फार्मिङ विशेषज्ञ टिम मुरले एक लाख जंगली उँटले चार लाख कार बराबरको प्रदूषण निम्त्याउने बताए।