काठमाडौं, १९ चैत । गुगलको ईमेल सेवा जीमेल सुरु भएको १५ वर्ष पुरा भएको छ ।
गुगलले सन् २००४ को १ अप्रिलबाट जीमेल सेवा सुरु गरेको थियो । अमेरिकी कम्प्युटर इन्जीनियर पउल बुचेइटले जीमेल बनाएका थिए ।
त्यतीखेर यसमा स्टोरेज क्षमता १ जिबी मात्रै थियो र यसको बेटा भर्सन रिलिज गरिएको थियो । अहिले यसको स्टोरेज बढाएर १५ जीबी बनाइएको छ ।
जीमेलका अहिले मासिक डेढ अर्ब प्रयोगकर्ता रहेका छन् । यसको प्रतिद्वन्द्वी याहु मेलको भने जम्मा २२.८ करोड मात्रै मासिक प्रयोगकर्ता रहेका छन् ।
जीमेल अहिले अंग्रेजी, हिन्दी नेपाली लगायत विश्वका विभिन्न १०५ भाषामा उपलब्ध रहेको छ ।
उपभोक्ताहरुले जीमेललाई एक निशुल्क इमेल सेवाको रुपमा प्रयोग गर्न सक्छन् । विभिन्न व्यावसायीक उत्पादनहरुका लागि यो कमाईको ठूलो माध्यम बनेको छ ।
गत जनवरीमा गुगलले जीमेलको नयाँ इन्टरफेस डिजाइन लञ्च गरेको थियो । नयाँ डिजाइनको माध्यमबाट प्रयोगकर्ताले पुरै कन्जर्भेशन नखोलीकन फोटो लगायतका अट्याचमेन्टहरु हेर्न सक्छन् ।
यस बाहेक गुगलले एन्ड्रोइडको लागि जीमेलमा पिन म्यासेज, रिमाइन्डर र क्याटेगोरी बन्डल जस्ता फिचर्सहरु ल्याउन लागिरहेको छ ।
(एजेन्सीको सहयोगमा)