नवनियुक्त अध्यक्ष ढुंगानाले गरे पद बहाली, प्रतिस्पर्धीलाई मिलेर काम गर्न आग्रह

काठमाडौं, २५ पुस । नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले पद बहाली गरेका छन् । अर्थमन्त्री युवराज खतिवडासँग शपथ लिए लगत्तै ढुंगानाले पद बहाली गरेका हुन् ।

गत सोमबार बसेको मन्त्री परिषद्को बैठकले ढुंगानालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्री परिषद्को बैठकले गरेको निर्णय विहीबार सार्वजनिक भएको थियो । पद बहालीसँगै उनले सेयर बजार सुधार, बजारको स्थायीत्व तथा विकासमा क्रमबद्ध काम आगाडि बढाउने बताए ।

लगानीकर्तालाई जागरुक गर्ने, प्रविधिको प्रयोग गर्दै पुँजी बजारमा लगानीलाई सहज बनाउने उनले बताए ।

उनले अध्यक्षका लागि बोर्ड कर्मचारी पनि प्रतिस्पर्धी रहेको भन्दै यो सरकारको नियुक्ति हो, प्रतिस्पर्धी साथीहरूले चित्त नदुखाउन आग्रह गरे ।

नवनियुक्त अध्यक्ष ढुंगानालाई बोर्डका कार्यकारी निर्देशकद्वय परिष्ठनाथ पौडेल र नीरज गिरीसहित कर्मचारीले स्वागत गरेका थिए ।

ढुंगाना धितोपत्र बोर्डको विज्ञ सञ्चालक थिए । त्यसअघि उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए । राष्ट्र बैंकमा ३० वर्ष काम गरेर उनले अनिवार्य अवकाश लिएका थिए । उनले बेलायतबाट अर्थशास्त्रमा एमए गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here