पश्चिमी वायु पुनः प्रवेश गर्दै, कस्तो छ वर्षा र हिमपातको सम्भावना ?

काठमाडौं, २८ पुस । नेपालमा सोमबार पुनः पश्चिमी वायुको न्यून चापीय प्रणाली प्रवेश गर्दैछ ।

जसको कारण पश्चिमका पहाडी र हिमाली भूभागमा हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

सोमबार बेलुकादेखि यी ठाउँमा पश्चिमी वायुको प्रभाव पर्ने हुनाले हिउँ र पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै पश्चिम पहाड तथा तराईका केही स्थानमा हल्का वर्षा गराउने सम्भावना रहेको छ ।

कुहिरोसँगै चिसो हावा पनि चल्ने भएकाले सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ । पश्चिमी वायुको प्रभाव मङ्गलबार बेलुकासम्म देखिने हुनाले पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भने बुधबारदेखि फेरि मौसम खुल्दै जाने महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ : तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने भएकाले हुस्सु/कुहिरो लागेका स्थानमा राम्रो सँग घाम नलाग्ने भएकाले चिसो नै रहने देखिन्छ।तसर्थ चिसोबाट बच्ने उपाय अपनाउन हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान :
पुस २८ गते (सोमबार)
दिउँसो : देशका पहाडी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

राति : देशका पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी भूभागका एक-दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ।

पुस २९ गते (मंगलबार)
दिउँसो : देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

राति : देशकाे पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी भूभागका एक-दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

माघ १ गते (बुधबार)
दिउँसो : देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी भूभागका एक(दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

राति : देशभरको मौसम सामान्यतया सफा रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here