दिलीपको परिवारलाई प्रदेश सरकारको पाँच लाख आर्थिक सहयोग

काठमाडौं, २८ पुस । बालुवा, गिट्टी उत्खननको विरोध गर्दा हत्या गरिएको दिलीप महतोको परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई उक्त आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

अवैध गिटी उत्खनन् गर्दै आएका क्रसर सञ्चालक विपिनकुमार महतोलगायतका व्यक्तिले गत शुक्रबार बिहान धनुषाको मिथिला नगरपालिका- ५ स्थित औरही खोलामा दिलीपको हत्या गरेका थिए।

सुनियोजितरुपमा हत्या गरेर घटनालाई दुर्घटनाको रुप दिन ना ७ ख ६४१३ नम्बरको टिप्परले किचिएको जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पत्रकार सम्मेलन मार्फत जनाएको थियो ।

प्रहरीका अनुसार दिलीपलाई फलामको लिभरले घोचेर घाइते बनाएपछि खोलाको बगरमा सुताएर टिपरले टाउको किचेर हत्या गरिएको थियो। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले क्रसर सञ्चालक विपिन, टिपर चालकलगायत ४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

पक्राउ पर्नेमा चुरियामाई बालुवा गिट्टी प्रशोधन केन्द्रका सञ्चालक विपिनकुमार महतो, महोत्तरी बर्दिबास ९ का टिप्पर चालक मुनिन्द्र महतो, बर्दिबास २ का लोडर चालक जितेन्द्रकुमार महतो र स्थानीय मृतकका साथी रोशन कुमार यादव रहेका छन् ।

अवैध बालुवा, गिट्टी उत्खनन गर्न नदिन दिलिपले चलाएको अभियानले गर्दा क्रसर सञ्चालकलाई करोबार गर्न समस्या भइरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here