आँधिबेरीबाट दुई हजार परिवार प्रभावित

काठमाडौं, १९ चैत । बारा र पर्सा जिल्लामा आइतवार साँझ आएको आँधीबेरीले २ हजार ११ घरमा क्षति पुगेको प्रारम्भिक सर्वेक्षणले देखाएको छ ।

पहिलो पल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी संकलन गरिएको तथ्यांकका अनुसार बारामा १ हजार ५ सय २ र पर्सामा ५ सय ९ परिवार प्रभावित भएका छन् । मोवाइल एप्लिकेशनबाट तथ्यांक लिन स्थानीय तहका वडाध्यक्ष, रेडक्रस र सुरक्षाकर्मीको टोलीले काम गरिरहेको छ ।

पछिल्लो तथ्यांकअनुसार आँधीबाट २७ जनाको मृत्यु भएको छ भने ६ सय भन्दा बढी घाइते भएको छन् ।

रेडक्रसले २ सय ६ परिवारलाई राहत प्याकेजको पूर्ण सेट वितरण गरेको छ । यो सेटमा त्रिपाल १, कम्बल २, सारी १, पुरुषको धोती १, कपडा १६ मिटर, भाँडाकुँडाको सेट, पानी राख्ने वाल्टी र १० मिटर डोरी रहेका छन् ।

यसका अतिरिक्त ४ सय ९९ परिवारलाई तारपोलिन तथा डोरी वितरण गरिएको छ । यसमध्ये पर्साका विभिन्न प्रभावित क्षेत्रमा आज २ सय ४६ थान तारपोलीन र डोरी वितरण गरिएको छ । त्यस्तै, ७५ जनालाई प्राथमिक उपचार तथा उपचारको लागि ओसारपसारमा सहयोग गरिएको छ । विभिन्न संघसंस्थाको सहयोगमा पर्सामा ५० परिवारका लागि २ सय किलो चामल, १ सय किलो दाल र ५० किलो आलु वितरण गरिएको छ ।

त्यस्तै, बारामा थप २ सय ५३ परिवारलाई तारपोलिन तथा डोरी र एक सय थान म्याट वितरण गरिएको छ ।
विपद् व्यवस्थापन विभागका निर्देशक मोना अर्यालका अनुसार तयारी खाना र छाना आँधी पीडितका लागि पहिलो आवश्यकता देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here