बैंकले तत्काल ब्रोकर लाइसेन्स नपाउने, अनलाइन प्रभावकारी बनाउन निर्देशन

काठमाडौं १, माघ । वाणिज्य बैंकहरुले तत्काल सेयर ब्रोकरको लाइसेन्स नपाउने भएका छन् । पूर्ण स्वचालित विद्युतीय कारोबार सञ्चालन भइरहेको अवस्थामा यही प्रविधिलाई अझ प्रभावकारी बनाउनु पर्ने भएकाले तत्काल नयाँ ब्रोकरको संख्या थप्ने सम्भावना कम रहेको अर्थमन्त्री युवराज खतिवडाले बताए ।

नेप्सेको वार्षिक साधारणसभाको उदघाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले भने,‘अनलाइन कारोबार प्रणालीलाई ब्यापक बनाउने कि संख्या मात्र थप्ने यो बारेमा छलफल भइरहेको छ ।’ विश्वव्यापी रुपमा डिजिटल प्रविधिले फड्को मारिरहेको समयमा नेपालले पनि सोही प्रवृति पच्छ्रयाउनु पर्ने उनले बताए ।

बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्नकालागि नेप्से आवेदन संकलन गरिसकेको छ । संसदको अर्थसमितिले छुट्टै उपसमिति बनाएर अध्ययन गरिरहेको छ । यही बेला अर्थमन्त्रीको उक्त भनाई आउनुले तत्कालका लागि बैंकलाई ब्रोकर लाइसेन्स वितरण गर्ने सम्भावना नदेखिएको हो ।

अर्थमन्त्री खतिवडाले आउँदो वजेटमार्फत सेयर कारोबारमा देखिएको कर सम्बन्धी समस्या समाधान गरिने बताए । सेयर बजारलाई आफ्नै रप्तारमा चल्नुपर्ने भन्दै, बढ्दा धेरै उत्साहित र घट्दा निरुत्साहित नहुन पनि उनले लगानीकर्तालाई सुझाब दिए । करिब दर्जन वाणिज्य बैंकले ब्रोकर लाइसेन्स माग्दै नेप्सेमा आवेदन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here