पुरानो संसद भवनलाई स्टेट हल बनाइदै

विदेशी राष्ट्राध्यक्ष आउँदा त्यहीँ कार्यक्रम हुने

काठमाडौं, २० चैत । सरकारले सिंहदरबारस्थित पुरानो संसद भवनलाई स्टेट हलका रुपमा विकसित गर्ने भएको छ ।

भूकम्पबाट मक्किएको यो भवन रेट्राेफिट गरि स्टेट हलका रुपमा विकास गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले जानकारी दिए ।

‘परराष्ट्र मन्त्रालयले यो भवनलाई विदेशी राष्ट्रप्रमुखहरु आउँदा स्वागत गर्ने गरी स्टेट हलका रुपमा विकास गर्न आग्रह गरेको छ’, उनले भने ‘सोही अनुसार हामी अब रेट्राेफिटको तयारी गरिरहेका छौं ।’

विदेशी राष्ट्रप्रमुखहरु आउँदा सरकारले औपचारिक रुपमा स्वागत गर्ने तथा कार्यक्रम गर्ने हल नहुँदा अहिले पाँचतारे होटेलमा गर्नुपर्ने बाध्यता छ ।

भूकम्पपछि गरिएको प्रारम्भिक अध्ययनले यो भवनको रेट्राेफिट नहुने र भत्काएर नयाँ बनाउनु पर्ने प्रतिवेदन आएको थियो । तर, प्राधिकरणका सीइओ ज्ञवाली भने विस्तृत अध्ययनले यस भवनलाई पनि रेट्राेफिट गरी मर्मत गर्न सकिने देखिएको बताउँछन् ।

उनका अनुसार प्रारम्भमा सिंहदरबारलाई पनि भत्काएर नयाँ बनाउने प्रतिवेदन आएको थियो, तर अहिले सिंहदरबार रेट्राेफिटका माध्यमबाटै सवल हुने देखिएको छ ।

सोही अनुसार प्राधिकरणले काम पनि अगाडी बढाएको छ । बैशाख मसान्तसम्म सिंंहदरबारका लागि ठेक्का प्रकृया लागिसक्ने उनले जानकारी दिए

नयाँ भवन बन्ने भएपछि पुरानो उपेक्षामा

सरकारले सिंहदरबारभित्रै पुतली बगैचामा अत्याधुनिक संसद भवन बनाउँदैछ । आफ्नो लागि नयाँ भवन बन्ने भएपछि सांसदहरुले यो ऐतिहासिक पुरानो संसद भवन भने उपेक्षामा पारेका छन् । कलात्मक यो भवन भूकम्पपछि जीर्ण बनेको छ ।

लामो समयदेखि संसद भवनका रुपमा उपयोग भएको यो भवन २०६४ सालको संविधानसभा निर्वाचनपछि भने प्रयोग विहिन बनेको थियो ।

२०६४ सालमा पहिलो संविधानसभाको निर्वाचनबाट सांसद संख्या ६०१ पुगेपछि यो हल साँघुरो भयो, त्यसपछि यसको सट्टा संसदले बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर संचालन गर्न थाल्यो ।

२०७२ सालको भूकम्पपछि जीर्ण बनेको यो भवन अझै पनि पुनर्निर्माण भने भइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here