विषालु बिच्छीको तस्करी, २ सय बिच्छीसहित चिनियाँ पक्राउ

काठमाडौं । मान्छेका सोख अनौठा हुन्छन् । त्यस्तै सोख पाल्ने एक चिनियाँ नागरिक श्रीलंकामा पक्राउ परेका छन् । झोलामा २ सय ओटा जिउँदा बिच्छी हालेर तस्करी गर्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको एजेन्सीहरुले बताएका छन् ।

उनले आफ्नो ह्याण्ड क्यारीमै बिच्छी बोकेर हिंडेका थिए । प्रहरीले उनलाई बन्दरानायके अन्तरराष्ट्रिय विमानस्थलबाट चीनको ग्वाङझाउ जाने क्रममा डिपार्चर गेटबाटै पक्राउ गरेका हुन् । यद्यपि प्रहरीले तस्करको नाम भने खुलाएको छैन ।

प्रहरीले उनलाई ५ सय ५० डलर जरिवाना गरेको छ । प्रहरीका अनुसार उनले विभिन्न मुलुकबाट जनावर, पशुपंक्षी तथा किराफट्याङ्ग्रा आदिको तस्करी गरी चीनमा लगेर पालन तथा विक्री गर्ने गरेका थिए ।

उनले श्रीलंकाका विभिन्न ठाउँ घुमेर र रिक्सावालाहरुसँगबाट २ सय ओटा बिच्छी संकलन गरेका थिए । प्रहरीले उनलाई घर जान दिएको छ । तर, सबै बिच्छी भने जफत गरिएको छ ।

श्रींलकाली अधिकारीहरुका अनुसार बिच्छीको विष निकालेर बेच्नका लागि समेत तस्करी गरिएको हुनसक्छ । विश्वमा पाइने २ हजार बिच्छीका प्रजातीमध्ये श्रीलंकामा १८ प्रजाती पाइन्छन् त्यसमध्ये हटेनटोता टामुलस, जसलाई रातो बिच्छी पनि भनिन्छ, सबैभन्दा विषालु हुन्छ । यसको टोकाइबाट ह्दयाघात र मृत्युसम्म हुनसक्ने बताइन्छ ।

तर, नियन्त्रित मात्रामा प्रयोग गर्ने हो भने यसको विष दमजस्ता रोगका लागि प्रभावकारी उपचार पनि हुन सक्ने विज्ञहरु बताउँछन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here