डेपुटी गभर्नर शिवराज श्रेष्ठ निर्दोष ठहर

काठमाडौं, २ माघ । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ।

बिहीबार आयोजना हुने नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले श्रेष्ठमाथि छानबिन भएको र केहीपनि नपाइएको भन्दै उनले सफाइ पाएको बताए ।

योसँगै डेपुटी गभर्नर श्रेष्ठलाई अब पुनर्बहाली भएर कामकाज गर्न बाटो खुला भएको छ । यससँगै उनी गर्भनरको प्रत्यासीका रुपमा देखिएका छन् ।

आफूलाई लागेको आरोप खण्डन गर्दै अर्थसचिव डा. राजन खनाललाई डेपुटी गभर्नर श्रेष्ठले गत साता मात्रै २२९ पेजको स्पष्टीकरण बुझाएका थिए। उनले आफूमाथि लागेको सबै आरोप झूठो रहेको भन्दै प्रत्येक आरोपको खण्डन गरेका थिए।

राष्ट्र बैंक सञ्चालक समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले दोषी किटान गरेपछि सरकारले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो। पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुवोध कर्ण सदस्य रहेको समितिको श्रेष्ठ दोषी रहेको प्रतिवेदन पेश गरेको थियो।

श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा लुकाउन सहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएर रकम भुक्तान लिएको आरोप लागेको थियो ।

श्रेष्ठ २०७२ सालमा डेपुटी गभर्नर भएका हुन । अनियमितता गरेको आरोपमा छानबिनमा परेका श्रेष्ठ कात्तिक १८ गतेदेखि निलम्बनमा परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here