प्रयोग भइसकेका प्लाष्टिक झोलाबाट बन्यो आकर्षक सुट

हामी मध्ये अधिकांशले प्रयोग भइसकेका प्लाष्टिकका झोलाहरुलाई त्यत्तिकै फोहोरको रुपमा मिल्काइदिने गर्छौं ।

त्यसको पुनःप्रयोगको बारेमा भने हामी सोच्दैनौं । तर, अमेरिकाको न्यूयोर्कमा बस्ने एक ७५ वर्षिया वृद्धाले भने प्रयोग भइसकेका प्लाष्टिकका ३०० वटा सपिङ ब्याग प्रयोग गरेर आकर्षक सुट र स्कर्ट तयार गरेकी छिन् ।

रोजा फेरिङ्गो नामकी ती वृद्धाले बनाएको उक्त नयाँ सुटले पुनःप्रयोगको एक उच्च नमूना पेश गरेको छ ।

अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी ग्रिसकी फेरिङ्गोले खैरो प्लाष्टिकका झोलाहरुलाई मसिनो टुक्रामा काटेर त्यसलाई जोड्दै सुट तयार गरेकी हुन् । उनले यसलाई कटनको फेब्रिकसँग जोडेकी छिन् ।

जाडो महिनामा लगाउन मिल्ने गरी उनले बुनेको उक्त सुट धेरै नै आकर्षक छ । खैरो झोलामा भएका हरियो प्रिन्ट झनै सुहाएको छ ।

फेरिङ्गोकी छोरी फ्रान बर्टालीले आफ्नो आमाले सिसिलीमा बाल्यकाल देखि नै कपडा बुन्ने र सिलाउने गरेको बताइन् ।

अघिल्लो वर्ष कसैले प्रयोग भइसकेको प्लाष्टिकको झोलाबाट पर्स बनाएको देखेपछि फेरिङ्गोलाई खेर जाने प्लाष्टिकको पुनःप्रयोग गर्ने यस्तो सोच दिमागमा आयो । सुट बनाउनु अघि उनले दुई वटा पर्स पनि बनाएकी थिइन् ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here