लक्ष्य अनुसार उठेन कर, ६ महिनामा जम्मा साढे १५ अर्ब संकलन

चितवन, ५ माघ । अन्तः शुल्कमा कमी आएपछि लक्ष्यअनुसार कर संकलन हुन सकेको छैन। आन्तरिक राजस्व कार्यालय भरतपुरले पुस मसान्तसम्ममा १५ अर्ब ४३ करोड ९४ लाख ७६ हजार राजस्व संकलन गरेको छ।

जुन लक्ष्यको ७८. ४० प्रतिशतमात्र हुन आउँछ। कार्यालयका अनुसार पुस मसान्तसम्ममा १२ अर्ब ८६ करोड ६३ लाख १४ हजार अन्तःशुल्क संकलन भएको छ। जुन लक्ष्यको ७४.६८ प्रतिशत मात्र हुन आउँछ। मूल्य अभिवृद्धि करतर्फ एक अर्ब १२ करोड ३७ लाख ७९ हजार संकलन भएको छ।

यो लक्ष्यको १२५.३१ प्रतिशत हो। त्यस्तै आयकरतर्फ एक अर्ब ३२ करोड ३४ लाख ५१ हजार, बहाल करतर्फ तीन करोड ४४ लाख ९५ हजार र ब्याज करमा आठ करोड १९ लाख पाँच हजार संकलन भएको छ। आयकरमा ९६.१५, बहाल करमा ६६.२२ र ब्याज करमा ७६.९९ प्रतिशत लक्ष्य प्राप्त भएको कार्यालयले जनाएको छ।

कार्यालयप्रमुख शुभप्रसाद रिजालका अनुसार यहाँको मुख्य राजस्व अन्तःशुल्क हो। चालु वर्षको लक्ष्य ४३ अर्ब ३८ करोड छ। जसमध्ये अन्तःशुल्कको लक्ष्यमात्र रु ३७ अर्ब ९४ करोड छ। यस कार्यालयले संकलन गर्ने राजस्व ८६ प्रतिशत लक्ष्य अन्तःशुल्कको छ। गत वर्ष ३० अर्ब राजस्व संकलन भएकामा २६ अर्ब अन्तःशुल्कबाट उठेको थियो।

अन्तःशुल्कको मूख्य हिस्सा मदिरा र बियर उद्योगले समेट्ने गर्छ। यसका अतिरिक्त रङ, सिमेन्ट, फलामका निर्माण सामग्री उत्पादन, हलुका पेयपदार्थ लगायतमा अन्तःशुल्क लाग्ने गर्छ। यस कार्यालयले नवलपुर र चितवन हेर्छ। यस क्षेत्रमा मदिराका सात र बियरका ६ उद्योग छन्।

मदिरा र बियरको उत्पादन र बिक्री वितरण कमी भएका कारण राजस्वमा गिरावट आएको रिजालको भनाइ छ। अन्तःशुल्कमा मदिराको भन्दा बियर उद्योगको लक्ष्य बढी भएको भन्दै उनले गर्मी मौसमसँगै बियरको उत्पादन एवं बिक्री बढेर राजस्व लक्ष्यमा पुग्ने जानकारी दिए। चिसो मौसममा मदिराको खपत राम्रो हुने भए पनि बियरको खपत निकै कम हुने गर्छ।

कार्यालयले राजस्व बढाउन यस क्षेत्रका उद्योग वाणिज्य संघ, उद्योग संघ, चेम्बर अफ कमर्स लगायतका उद्योगी–व्यवसायीका संघसंस्थासँग छलफल एवं करसम्बन्धी जानकारी गराउने, बजार अनुगमन गर्ने जस्ता कार्य गर्दै आएको रिजालले बताए। कार्यालयमा एक लाख ४० हजारभन्दा बढी करदाता रहेका छन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here