निर्माण व्यवसायीलाई देशभर नै त्रास, योजना पिच्छे कमिसन माग

काठमाडौं, ९ माघ । सरकारसँग विद्रोह गरिरहेको समूहको कारण निर्माण व्यवसायीको काममा देशैभर बाधा पुग्ने गरेको छ ।

बुधवार नेपाल निर्माण व्यवसायी महासंघले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष रवि सिंहले सरकारसँग विरुद्ध विद्रोह गरिरहेका समूहले काम गर्न नदिएको बताए ।

विद्रोही समूहहरुका मान्छेहरुले निर्माण योजना पिच्छे प्रतिशत मागेर दुख दिने गरेको सिंहको भनाई थियो । यदी प्रतिशत दिन्छस् भने काम गर नत्र छाडेर जा समेत भनेर धम्की दिने गरेको सिंहले बताए ।

‘निर्माण योजना पिच्छे प्रतिशत माग्छन्,यो योजनाको दुई प्रतिशत हामीलाई दिन्छस् भने काम गर नत्र जा भन्छन्, हामीलाई सुरक्षा कस्ले दिने ?’ उनीहरुले लिखित र मौखिक दुवै प्रकारका दबाब दिने गरेको पनि उनले बताए ।

‘लिखित र मौखिक दुवै प्रकारका दबाब दिन्छन्’ उनले भने, ‘मौखिकमा सिधै यति प्रतिशत ले भनेर धम्की दिन्छन् भने लिखितमा सहयोग दिनुस् भन्छन् ।’ महासंघका महासचिव रोशन दाहालका अनुसार अहिले देशभर नै निर्माण व्यवसायीलाई काम गर्न अप्ठ्यारो परिरहेको छ, जसको कारण त्रासको अवस्था सिर्जना भएको छ ।

‘अहिले देशभर नै निर्माणको काम ठप्प जस्तै भएको छ, काम गर्ने वातावरण नै छैन्’ उनले भने, ‘निर्माण कार्य भईरहेको हरेक स्थानमा विस्फोटक पदार्थ राखेर मजदुर र निर्माण व्यवसायीलाई धम्क्याउने काम भइरहेको छ ।

गएको ६ महिनामा देशभर १० भन्दा धेरै स्काभेटर जलाईएको छ । जसको कारण निर्माण व्यवसायीलाई २० करोड भन्दा धेरैको घाटा लागिसक्यो ।’

सरकारले सुरक्षा दिन सकेन

सरकारले निर्माण व्यवसायीलाई सुरक्षा दिन नसकेको पनि अध्यक्ष सिंहले आरोप लगाए । ‘सरकार हाम्रो समस्यामा गम्भिर नै छैन् उनले भने, ‘गृहमन्त्रीले हामी सुरक्षाको ग्यारेन्टी दिन्छौं तपाईंहरु आफ्नो काम गर्नहोस् भन्नुहुन्छ, तर हरेक दिन जस्तो यस्तो घटना भइरहन्छ ।’

यदी सरकारले यो घटना कम गर्न नसके निर्माण कार्य ठप्प हुने र सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने आकाङ्क्षा परा नहुने समेत अध्यक्ष सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here