सहिद स्मारकमा श्रद्धाञ्जली सभा सम्पन्न, ४ सहिदको पूर्ण कदको शालिक स्थापना

काठमाडौं । सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौंको लैनचौरस्थित सहिद स्मारकमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

स्मारकमा पुगेर प्रधानमन्त्री के. पि. शर्मा ओलीले ज्ञात अज्ञात सहिदहरुको योगदान स्मरण गर्दै पुष्पहार अर्पण गरेका थिए । त्यसबेला नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो ।

माफी मागेर शाशकसामु झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गर्ने चार र अन्य ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइदै आएको छ ।

वि.सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्वमा मनाइँदै आएको सहिद सप्ताहको मुल कार्यक्रममा यस बर्ष स्मृति मन्तव्य राखिएन । प्रधानमन्त्रीसहित उच्च अधिकारी आएर स्मृति सभा मात्र गरियो । गएको बर्ष भने प्रधानमन्त्री ओली र सहिद सप्ताह मुल समारोह समितिका संयोजक एवं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले स्मृति मन्तव्य राखेका थिए ।

यस बर्ष स्मृति सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योेगेश भट्टराई, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, महानगरका प्रमुख तथा सहिद सप्ताह मूल समारोह समितिका संयोजक बिद्यासुन्दर शाक्य तथा जनसाधारणले सहिद स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

हुकुमी शासनको विरोध गरेको र नागरिकलाई स्वतन्त्रताको पक्षमा उक्साएको आरोपमा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी ज्यानदण्ड दिएका थिए ।

सहिद सप्ताहको अवसर पारेर यस बर्ष धर्मभक्त माथेमा, गंगाला श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको शालिक प्रतिस्थापन गरिएको छ । उनीहरुलाई मृत्युदण्ड दिइएको ठाउँमा शालिक राखिएको हो ।

धर्मभक्त माथेमाको शालिक अमरत्व पाएको ठाउँसँगै ओमबहालस्थित वडा कार्यालयसँगै माथेमाकै नाममा पार्क पनि राखिएको छ । शुक्रराज शास्त्रीको शालिक भने गएको बर्ष नै राखिएको थियो ।

यससँगै १९९७ सालमा प्राणदण्ड पाएका ४ जनै सहिदको पूर्ण कदको शालिक देख्न पाइने भएको छ । यी शालिकहरु कलाकार महेश तुलाधरले बनाएका हुन् ।

शालिकहरुमध्ये शुक्रराज शास्त्रीको लागत मुल्य करसहित १० लाख हो भने बाँकी ३ जनाको जनही ८ लाख ५ हजार रहेको छ । शुक्रराज शास्त्री शालिक पित्तलको हो भने बाँकी शालिक ढलोटबाट तयार गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here