३० औं घरेलु तथा साना औद्योगिक प्रदर्शनी बैशाखमा

काठमाडौं, २१ चैत । आँउदो बैशाख २६ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा घरेलु तथा साना औद्योगिक प्रर्दशनी हुने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, उद्योग विभागको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा ‘आर्थिक समृद्घिका लागि उद्योग खालौं, औद्योगिकरणका लागि सबै जुटौं’ भन्ने मुल नाराका साथ प्रदर्शनी हुने भएको हो ।

प्रदर्शनी बारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले पाँच दिनसम्म चल्ने प्रर्दशनीमा ७७ वटै जिल्लाका लघु, घरेलु तथा साना उद्यमीहरुको सहभागिता रहने जानकारी दिए ।

प्रर्दशनीमा २०० वटा स्टलहरु रहने र त्यसमध्ये पनि प्रदेशस्तरीय र महिला उद्यमशिलता प्रदर्शनीको लागि छुट्टा छुट्टै स्टलहरु रहने व्यवस्था रहेको अध्यक्ष गिरीले बताए ।

वि.स २०४२ सालबाट प्रत्येक वर्ष गरिँदै आएको प्रर्दशनीमा २०४६ सालबाट उत्कृष्ट उद्यमी र उत्कृष्ट महिला उद्यमीहरुलाई पनि पुरस्कृत गरिँदै आएको छ ।

प्रदर्शनीमा विद्यार्थीका लागि १० रुपैंया र सर्वसाधारणको लागि ३० रुपैंया टिकट शुल्क राखिएको छ ।

प्रर्दशनीमा नेपाल सरकारको घरेलु तथा उद्योग विकास समिति, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ, राष्ट्रिय लघु उद्यमी महासंघ, साना तथा मझौला व्यवसासी महासंघ लगायतका संघसंस्थाहरुको पनि सहकार्य रहने छ ।

प्रदर्शनीमा करिब १ लाख ५० हजार भन्दा धेरै मानिसहरुले अवलोकन गर्ने करिब ५ करोड भन्दा बढीको व्यापार गर्ने लक्ष्य राखिएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here