सातै प्रदेशमा ९० दिनलाई पुग्ने इन्धन भण्डारण गृह निर्माण गरिंदै

काठमाडौं, २१ चैत । इन्धनको आपूर्ति नियमित र सहज बनाउन सातै प्रदेशमा पेट्रोलियम पदार्थको कम्तिमा ९० दिन र एलपी ग्यासको कम्तिमा ४५ दिनको माग धान्न सक्ने भण्डारण गृह निर्माण गरने नेपाल आयल निगमले बताएको छ ।

विहीबार आयोजना गरिएको निगमको ३७ औं वार्षिक साधारण सभामा बोल्दै सञ्चालक समितिका अध्यक्ष केदारबहादुर अधिकारीले भण्डारण गृह निर्माण कार्यलाई छिटै अगाडि बढाइने बताए ।

अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनका अनुसार निगमले गत आर्थिक वर्ष २०७४/७५ मा २६ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थ आयात गरी २६ लाख ६९ हजार लिटर बिक्री गरेको थियो ।

चालु आर्थिक बर्ष २०७५/७६ को अर्धवार्षिक अवधिसम्मको खरीद मूल्यमा आएको वृद्धिले गर्दा इन्धनको व्यापारबाट निगमलाई करिव ३ अर्व रुपैयाँ नोक्सान भएकोमा पछिल्लो महिनाहरुमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको कमीले मूल्य समायोजनमा धेरै उतारचढाव नभएमा आषाढ मसान्तसम्ममा करिव ५ अर्व नाफा हुने अपेक्षा गरिएको अधिकारीले बताए ।

इण्डियन आयलसँग प्रत्येक १५ दिनमा पेट्रोल र डिजलको मूल्य सूची र अन्य पदार्थको मूल्य सूची प्रत्येक महिनाको १ तारिखमा प्राप्त हुने गरेको छ । मूल्य सूचीका आधारमा निगमले मूल्य समायोजन गरी पेट्रोलियम पदार्थहरूको विक्री वितरण गर्दै आएको छ ।

इण्डियन आयल कर्पोरेशनको मोतिहारी डिपोदेखि निगमको इन्धन डिपो अमलेखगंजसम्म पेट्रोलियम पदार्थको ढुवानी गर्न पाइप लाइन बिछ्याउने काम करीव ८० प्रतिशत सम्पन्न भई सकेको पनि निगमले बताएको छ ।

कार्यक्रममा बोल्दै निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सीमित श्रोत साधनको प्रयोग गरी सेवा विस्तार सुदृढीकरणमा निगम सक्रिय रहेको बताए ।

उपभोक्तालाई सरल मूल्यमा गुणस्तरीय पेट्रोलियम पदार्थ उपलब्ध गराउने, भण्डारण क्षमता वृद्धि गर्ने, हवाई इन्धनको सेवा क्षेत्र विस्तार गर्ने कार्यलाई प्राथमिकता दिने लक्ष्य लिएको पनि उनको भनाइ थियो । यस आवको कुल प्रशासकीय खर्च २ प्रतिशत् भन्दा कम रहेको तथा मूनाफा व्यापारको करीब २ प्रतिशत् मात्र रहेको पनि उनले बताए ।

निगमले वार्षिक १९५ अर्व रुपैयाँको कारोबार गर्दै आएको छ भने गत आवमा करीब ५५ अर्व रुपैयाँ अर्थतन्त्रमा योगदान पुर्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here