मध्यपहाडी लोकमार्ग एक साता बन्द हुने

दैलेख,१८ माघ । पुष्पलाल मध्यपहाडी लोकमार्ग एक साताका लागि बन्द भएको छ । लोकमार्गको दैलेख जिल्लाअन्तर्गत भगवतीमाई गाउँपालिकामा रहेको लोहोरे–बेस्तडा खण्डमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ ।

लोकमार्गको लोहोरे–बेस्तडा–मन्घर खण्डको छाँच भीरमा भएको ठाडो कडा चट्टानलाई काट्नुपर्ने र यस क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले हिजो शनिबारदेखि माघ २४ गतेसम्म सडक बन्द गर्ने आयोजनाले जनाएको छ । अन्य ठाउँमा सडक चौडा भइसकेको भए पनि यस क्षेत्रको कडा चट्टानले बाटो चौडा बनाउने काम रोकिएको थियो ।

यस क्षेत्रमा पर्ने छाँचको २५० मिटर (भीर) कटान गर्न लागिएको आयोजना कार्यालय दैलेखका प्रमुख इन्जिनियर नारायणप्रसाद न्युरेले बताए । चट्टान फोडेर दोहोरो लाइन बनाउने भनिए पनि हाललाई एक लाइनै बनाउने उनले जानकारी दिए । “एकै चरणमा यो काम सक्नुपर्ने भएकाले एक साताका लागि सडक बन्द गराएर निर्माण सञ्चालन गर्न लागेका हौँ,” उनले भने ।

आयोजना कार्यालय दैलेखका सूचना अधिकारी तुलाराम शर्माले दिनरात काम गरेर पनि सात दिनमा काम सक्ने दाबी गरे । लोकमार्ग बन्द हुँदा जाजरकोटका केही स्थान र भगवतीमाई गाउँपालिकाबाट दैलेख तथा सुर्खेत आवतजावतसमेत केही दिन प्रभावित हुने भएको छ । -रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here