चीनबाट फर्कन चाहने नेपालीको सूची सार्वजनिक

काठमाडौं, २० माघ । बेइजिङस्थित नेपाली दूतावासले चीनबाट नेपाल फर्कन चाहने नेपालीको सूची सार्वजनिक गरेको छ ।

चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीका लागि सरकारले चार्टर्ड विमानको व्यवस्था गर्ने जानकारी दिँदै आवेदन दिन आह्वान गरेको थियो।

कोरोनाभाइरसको संक्रमणका कारण आवागमन बन्द भएका हुबेइ प्रान्तका विभिन्न शहरमा रहेका स्वदेश फर्किन इच्छुक नेपाली नागरिकहरुले दूतावासमा पेश गरेको आवेदन अनुरुपको सूची सार्वजनिक भएको हो ।

दूतावासले सार्वजनिक गरेको सूचीमा १८० जना नेपालीको नाम सूचिकृत गरिएको छ । जसमा सबैभन्दा धेरै वुहान ५९ जना छन् । त्यस्तै जिङ्गाउबाट ५०, सियानबाट २८ इन्सीबाट २९ र इचाङबाट ५ जना नेपालीले घर फर्कने चाहना राखेको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

सार्वजनिक सूचिमा आफ्नो नाम नभए विवरणसहित दूतावासको इमेल ठेगाना [email protected] मा इमेल पठाउन सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ।

यता, नेपाल सरकारले चीनको वुहानमा रहेका नेपाली फर्काउने तयारी थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई नेपालमा ल्याएर राख्‍ने ठाउँबारे गृहकार्य थालेको छ।