कोरोनाको प्रभाव लसुनमा: चीनबाट आयात ठप्प, मूल्य अझै बढ्ने

काठमाडौं, २१ माघ । नेपाली बजारमा लसुनको मूल्य बढ्दै गइरहेको छ । चीनबाट सुकेको लसुनको आयात पूर्ण रुपमा रोकिएसँगै मूल्य महंगो हुदै गएको हो ।

आयात पूर्ण रुपमा रोकिएको कारण नेपाली बजारमा सुकेको लसुनको मूल्य पछिल्लो एक महिनामा तीन गुणा भन्दा धेरै बढ्यो ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार एक महिनाअघि प्रतिकिलो दुई सय ४५ रुपैयाँ मूल्यमा किनबेच भएको लसुनको खुद्रा मूल्य अहिले ६ सय ५ रुपैयाँ कायम भएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उप निर्देशक विनय श्रेष्ठका अनुसार चीनमा फैलिएको कोरोना भाइरसको कारण आयात ठप्प भएपछि लसुनको मूल्य बढेको हो ।

‘कोरोना संक्रमणको कारण अहिले चीनबाट लसुन आयात ठप्प भएको छ’ उनले भने, ‘चीन अहिले आफ्नै समस्याको चपेटामा रहेको कारण कहिलेसम्म आयात ठप्प हुने भन्नेमा कुनै जानकारी छैन् ।’

मूल्य अझै बढ्ने सम्भावना

चीनबाट आयात हुँदै आएको लसुनको आयात बन्द भएसंगै नेपालका गोदामहरुमा भण्डार भएर राखिएको लसुन पनि सकिदै गएको कारण आयात बन्द नै भईरहने हो भने मूल्य अझै बढ्ने उप निर्देशक श्रेष्ठ बताउँछन् ।

‘नेपालका गोदामहरुमा भण्डार भएर राखिएको सुकेको लसुन विस्तारै सकिदै छ’ उनले भने, ‘बजारको माग उहि अनुपातमा छ, त्यसकारण आयात त भएको छैन् यही लसुनलाई धेरै ग्राहकहरुको माग बढ्दै गर्दा लसुनको मूल्य अझै बढ्नसक्छ ।’

चीनबाट नेपालमा बर्सेनि करोडौँ रुपैयाँको सुकेको लसुन आयात हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here