‘देशलाई आवश्यक परे म नीलकण्ठ बन्न तयार छु मन्त्री दोषी, प्रम निर्दोष !’

काठमाडौं, २३ माघ । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललितानिवास जग्गा प्रकरणको बारेमा प्रतिक्रिया दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा काण्डमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेसँगै भट्टराईले ट्विट गर्दै जग्गा प्रकरणमा असहजता महसुस गरेको प्रतिक्रिया दिएका हुन् ।

उनले भनेका छन् -देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अदुनिआको प्रयत्न स्वागतयोग्य छ। तर प्रथमदृष्टिया यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ।

हाम्रा ऐनकानून र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ।

मन्त्री दोषी तर प्रम निर्दोष देखिदा मैले पनि असहजता महसूस गरेको छु! सुर-असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु!

तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्!वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस्!

देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयत्न स्वागतयोग्य भएको उनको तर्क छ ।

तर प्रथमदृष्टिया यसमा कतिपय त्रुटि र अपूर्णता देखिएको बताउँदै मन्त्रिपरिषद्ले सामूहिक रूपमा गरेका निर्णयहरूमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको सन्दर्भमा पूर्वप्रधानमन्त्री भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा काण्डमा १७५ जनालाई प्रतिवादी बनाएर बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

ललिता निवासको १ सय १४ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र भट्टराई पनि जोडिएका थिए । २०६६ चैत र २०६७ वैशाखमा नेपाल नेतृत्वको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री निवास विस्तारको निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here