इथोपियन एयरलाइन्स दूर्घटनाको असर, बोइङ ७३७ म्याक्सको उत्पादन घटेको घट्यै

अमेरिकी जहाज उत्पादन कम्पनी बोइङको सर्वाधिक लोकप्रिय मोडल ७३७ म्याक्सको उत्पादन घटेको छ ।

गत महिना इथोपियन एयरलाइन्सको जहाज दुर्घटनामा परी १५७ जनाले ज्यान गुमाएका थिए । एक वर्षको बीचमा यही मोडलका दुई जहाज दूर्घटना भए ।

यसअघि इन्डोनेसियाको लायन एयरको जहाज दूर्घटना हुँदा १८९ जना यात्रुको निधन भएको थियो । त्यसपछि संसारभरका वायुसेवा कम्पनीले बोइङ ७३७ म्याक्स जहाज ग्राउण्डेड गरे ।

बोइङ कम्पनीका सीइओ डेनिस मुइलेनवर्गले शुक्रबार एक विज्ञप्ती जारी गर्दै ७३७ म्याक्सको उत्पादन घटेको जानकारी दिएका हुन् । अन्तरराष्टिय नागरिक उड्डयन संगठन आइकाओसँगको सहकार्यमा यस मोडलमा रहेका कमजोरी हटाउँदै सुरक्षित उत्पादनमा कम्पनी केन्द्रित रहेको उनले उल्लेख गरेका छन् ।

यात्रुको सुरक्षालाई पहिलो प्राथमिकता दिइने भन्दै उनले अहिले भने उत्पादन दर घटेको उल्लेख गरेका छन् । उनका अनुसार ७३७ म्याक्सको प्रतिमहिना उत्पादन औसतः ४२ मा झरेको छ । दूर्घटनाअघि प्रतिमहिना उत्पादन ५२ वटा जहाज थियो ।

यो मोडलको जहाज संसारभर लाकप्रिय छ । तर, एक वर्षको अवधिमा प्राविधिक गडबडीका कारण दूई ठूलो दूर्घटना भएपछि संसारभरका वायुसेवा कम्पनी यो मोडलको उडानबाट झस्किएका छन् । कतिसम्म भने अहिले अमेरिकामा पनि यस मोडलका जहाज ग्राउन्डेड गरी राखिएको छ ।

यो मोडलको जहाज चीनका अधिकांश वायुसेवा कम्पनीले उडाउने गर्थे । चीनले ७३७ म्याक्सको उडान रोकेपछि नेपालमा पनि यस मोडलका जहाज आउन बन्द भएको छ ।

सिंगापुरको सिल्क एयरले पनि नेपालमा उडानमा यही मोडल प्रयोग गरेको थियो । सिंगापुरले पनि यो मोडल ग्राउण्डेड गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here