ललिता निवास काण्ड: एनआरएनएको औपचारिक धारणा सार्वजनिक

काठमाडौं, २७ माघ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खरिदमा औपचारिक धारणा सार्वजनिक गरेको छ ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै संघले २०७२ जेठ १४ गते १२ करोड ७२ लाख रुपैयाँ वैधानिक रूपमा बैंकमार्फत् भुक्तानी गरेर बालुवटारको ३ रोपनी जग्गा किनेको जनाएको छ ।

ललिता निवास परिसरको जग्गा खरिद गरेर भवन बनाएकोमा संघ पनि ठगिएको जनाउँदै ठग्नेलाई कारबाही गर्न माग गरेको छ ।

प्रवक्ता डिबी क्षेत्रीद्धारा जारी प्रेस बिज्ञप्तीमा एनआरएनएले आधिकारिक धारणा सार्वजनक गर्दा अध्यक्ष कुमार पन्तले यसअघि सार्वजनिक गरेका धारणालाई समावेश गरिएको छैन । विज्ञप्तीमा आफ्नो भवन रहेको जग्गालगायत ललिता निवास परिसरको जग्गा सरकारी भएको र विभिन्न व्यक्तिले विभिन्न समयमा सरकारी कर्मचारी एवं पदाधिकारीसँग मिलेमतो गरी निजी बनाएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघलाई समेत विपक्षी बनाई मुद्दा दायर गरेको खबरप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका प्रवक्ता डी।बी क्षेत्रीले जग्गा खरिद गर्दा खरिद गर्न लागेको जग्गाको विवरण सहित राजस्व मिनाहाका लागि नेपाल सरकारमा निवेदन दिएको र भूमिसुधार तथा व्यवस्थाको प्रस्ताव अनुसार २०७२ वैशाख ३१ को नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट ५० लाख ८८ हजार बराबरको राजस्व समेत मिनाहा भएको जनाएका छन् ।

विधिवत रूपमा संघको नाममा जग्गा पास भएपछि सम्बन्धित नियकायबाट अनुमति लिएर भवन निर्माण प्रक्रिया थालिएको र सो निर्माण हाल प्राय सम्पन्न गरी सोही भवनबाट कार्य समेत गर्दै आएको जनाएको छ ।

बालुवाटारस्थित जग्गा सरकारी रहेछ र त्यसलाई कसैले नियम कानुन विपरीत व्यक्तिगत बनाएको हो भने त्यस्तो गर्ने व्यक्ति र तिनका मतियार सजायको भागिदार हुनुपर्ने संघले जनाएको छ ।

त्यस्तो जग्गा सरकारी प्रक्रिया पूरा गरी संघलाई बिक्री गरेको पाइएमा संघ ठगीमा परेको पीडित पक्ष भएको प्रष्ट हुन्छ, विज्ञप्तिमा भनिएको छ । ‘हामी पीडित हुन सक्छौं तर ठगी गर्ने पीडक कदापि होइनौं,’ संघले भनेको छ । संघले सम्पत्तिको रक्षा र ठगिएको भए पीडकका तर्फबाट क्षतिपूर्ति दिलाउन राज्यले सहयोग गर्ने आशा र विश्वास लिएको समेत संघले जनाएको छ ।

संघ मुलुकको कानुनको अक्षरस पालना गर्नुपर्छ भन्नेमा प्रतिबद्ध छ, विज्ञप्तिमा भनिएको छ, ‘राज्यको सम्पत्ति हिनामिना हुनु हुँदैन र हिनामिनामा संलग्न व्यक्ति माथि कडा कारबाही हुनुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here