अमेरिका ८ विकेटले पराजित, कीर्तिमानबाट चुक्यो नेपाल

काठमाडौं, २९ माघ । आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले अमेरिकाविरुद्ध शानदार जित हात पारेको छ ।

बुधबार भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले दिएको ३६ रनको सामान्य लक्ष्य नेपालले ५ ओभर २ बलमा दुई विकेट गुमाउँदै ३६ रन पूरा गर्‍यो ।

नेपालले सामान्य लक्ष्य पछ्याउने क्रममा दुवै ओपनर ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलललाई दोस्रो ओभरमै गुमाएको थियो ।

पूर्व कप्तान पारस खड्का र उपकप्तान दीपेन्द्र सिंहले तेस्रो विकेटका लागि ३४ रनको साझेदारी गर्द नेपाललाई जित दिलाए । पारसले अविजित १५ दीपेन्द्रले अविजित १५ रन बनाए ।

बलिङतर्फ अमेरिकाका लागि नोथुस किनजिले दुई विकेट लिएका थिए । यसअघि अमेरिका ३५ रनमा नै अल आउट भएको थियो । अमेरिकाका लागि ओपनर जाभियर मार्शलले १६ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए । त्यस्तै सुशन भारीले चार विकेट लिए ।

यसअघि भएको अर्को खेलमा पनि नेपालले अमेरिकालाई हराएको थियो। तर ओमानसँग भएका दुई खेलमा पराजित भएको थियो।

योसँगै नेपालले विश्व कीर्तिमानी जित हात पार्न भने चुक्यो। यदि नेपालले ४.१ ओभरमा लक्ष्य भेटाएको भए विश्व कीर्तिमान हुने थियो।

यसअघि श्रीलंकाले जिम्बाब्वेविरुद्ध ४.२ ओभरमा लक्ष्य भेटाएको थियो। यसअघि सन् २००४ मा जिम्बावेको श्रीलंकासँग १८ ओभरमा ३५ रन बनेको थियो । जुन कीर्तिमान नेपालले १५ वर्षपछि बराबर गरेको छ ।