‘नेपालका मुख्य पर्यटकीय क्षेत्र हावाहुरीबाट जोखिममुक्त छन्’

काठमाडौं, २४ चैत । नेपाल पर्यटन बोर्डले नेपालका मुख्य पर्यटकीय क्षेत्र बदलिदो मौसमबाट सुरक्षित रहेको भन्दै नेपाल भ्रमणलाई निरन्तरता दिन पर्यटकलाई आग्रह गरेको छ ।

तराई भेगमा पछिल्लो समय आएको हावाहुरीका कारण सर्वसाधारणको ज्यान गएपछि अन्तराष्ट्रिय पर्यटन बजारमा नकारात्मक सन्देश पुगेको छ । सोही हल्ला मेटाउन बोर्डले नेपालको मुख्य पर्यटकीय क्षेत्र जोखिममुक्त रहेको उल्लेख गरेको हो ।

सीइओ दीपकराज जोशीलाई उदृत गर्दै नेपाल पर्यटन बोर्ड लेख्छ, ‘हावाहुरीबाट प्रभावित क्षेत्र पर्यटकीय क्षेत्र होइन, अहिलेसम्म कुनै पनि पर्यटक यसबाट प्रभावित छैनन्, नेपाल सरकार सबै पिडितको तत्काल उद्धार र राहतमा जुटेको छ ।’

नेपालको दक्षिण पूर्वी नेपालका बारा तथा पर्सा जिल्लामा हावाहुरीका कारण २८ जनाले ज्यान गुमाएपछि यसको अन्तराष्टिय संचारमाध्यममा प्रचार भएको छ ।

जसबाट पर्यटन बजारमा नकारात्मक सन्देश पर्न जानेमा सरोकारवाला चिन्तित छन् । अहिले नेपालमा पर्यटन सिजन चलिरहेको छ । खासगरी पर्वतारोहणमा यस मौसममा सर्वाधिक पर्यटक नेपाल आउने गर्छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा पर्यटकीय गतिविधि काठमाडौं, चितवन, पोखरा, लुम्बिनी र हिमालयन क्षेत्रमा बढी केन्द्रित छ ।

यी भेग अहिलेको बदलिदो मौसमबाट सुरक्षित छन् । त्यसकारण पनि ढुक्क भएर नेपाल भ्रमणमा निस्कन बोर्डले पर्यटकलाई आग्रह गरेको छ । पर्यटन विभागका अनुसार अहिले हिमालय आरोहणका लागि अनुमति लिने पर्यटकको ओइरो लागेको छ ।

यस सिजनमा सबैभन्दा बढी पर्यटक हिमाल आरोहणमा निस्कन्छन् भने सरकारले पनि सर्वाधिक रोयल्टी प्राप्त गर्छ । यो मौसम जेठसम्म जारी रहन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here